चितवन विशेष

वन्यजन्तुबाट ज्यान गुमाएका अभिभावकका सन्तानलाई पाँच लाख

Banner

चितवन कात्तिक १

वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षाका लागि माडी नगरपालिकाले सहयोग शुरु गरेको छ । स्कुलमा अध्ययन गर्दै गरेका सन्तानलाई माडी नगरपालिकाले रु पाँच लाख उनीहरुको खातामा जम्मा गर्न शुरु गरेको हो ।

नगरपालिकाले उनीहरुलाई उच्च शिक्षाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गत वर्षबाट यो अभियान थालेको हो । माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनले घेरिएको छ । वन्यजन्तुको सबैभन्दा बढी आक्रमण माडीवासीलाई हुने गर्दछ । मानवसँगै घरगोठ र लगाइएका बाली पनि वन्यजन्तुले क्षति पु¥याउँदै आएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार बाबु आमामध्ये कसैको वन्यजन्तुको आक्रमणबाट निधन भएमा र उनीहरुका सन्तान कक्षा १२ सम्म कुनै पनि कक्षामा अध्ययनरत रहेको अवस्थामा उनीहरुकै खातामा रकम जम्मा गरिनेछ । त्यस्ता सन्तान एक वा बढी जे जति भए पनि सो रकम विभाजन गरेर उनीहरुको खातामा जम्मा गरिदिने ढकालले बताए।

सो रकमको ब्याज वा मूलधनबाट उनीहरुले उच्च शिक्षा सहजरुपमा आर्जन गरुन् भन्ने उद्देश्यले नगरपालिकाले यस कार्यको थालनी गरेको ढकालको भनाइ छ । गत वर्ष वन्यजन्तुको आक्रमणबाट मारिएका एक व्यक्तिका सन्तानलाई सो रकम नगरपालिकाले जम्मा गरिदिएको उनले जानकारी दिए ।

यससँगै बालीको बीमामा ९० प्रतिशत नगरपालिकाले बेहोर्दै आएको छ । वन्यजन्तुका कारण हुने जनधनको क्षतिपूर्तिबापत निकुञ्जले रकमसमेत उपलब्ध गराउँदै आएको छ । बालीमा पुगेको क्षतिको निकुञ्जले दिने रकम बराबर नगरपालिकाले थप गर्नसमेत शुरु गरेको जनाएको छ ।

वन्यजन्तुका कारण मानिसको मृत्यु भएमा निकुञ्जले रु १० लाख उपलब्ध गराउने गर्दछ । घाइतेको उपचार निकुञ्जले गर्दछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति कम गर्दै क्षति भइहालेमा राहत रकम दिलाउने काममा निकुञ्जसँगै नगरपालिकाले सहकार्य गरेर काम गरिरहेको बताए । पछिल्लो समय नगरपालिकाले शुरु गरेका गतिविधिका कारण निकुञ्ज र जनताको बीचको द्वन्द्व कम हुँदै जाने रुपाखेतीको विश्वास छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>