खेलकुद

आजदेखि ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’, चितवन र मकवानपुर भिड्दै

Banner

चितवन, असोज ३०–

चितवनकै सर्वाधिक धनराशीको राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ आज (बिहीबार)देखि सुरु हुँदैछ ।

नारायणगढ जेसीजको आयोजनामा नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको एक समारोहका बीच चितवन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवंम कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले दिउँसो २ बजे समुद्घाटन गर्ने छन् । उद्घाटन समारोहमा कला संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिने नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जनाए । उनका अनुसार यसपटक मैदानलाई निकै मेहनत गरी निर्माण गरिएको छ ।

प्रतियोगिताको समुद्घाटन खेलमा आज घरेलु टोली चितवन ११ र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

कार्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब रहेको प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

मैदानको पश्चिमतर्फ बनाइएको अस्थायी प्याराफिटमा करिब एक हजार आठ सय दर्शक अटाउने दाबी आयोजकको छ । प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार पाउने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको क्वाटरफाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>