नवलपुर
बुलिङ्गटारमा विकास निर्माणः मन्त्री गुरुङद्धारा निरीक्षण

नवलपुर, असोज २५–
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले शनिबार नवलपुर जिल्लाको पहाडी क्षेत्र बुलिङ्गटार गाउँपालिकाको मोटरबाटोको निरीक्षण गरेका छन् ।
बुलिङ्गटार गाउँपालिकाको छरछरेबाट–सिङ्गुवा धारापानी प्राथमिक स्वास्थ्य केन्द्र सुन्दर चोक हुँदै प्रहरी चौकीसम्म निर्माण हुन लागेको उक्त मोटरबाटोको मन्त्री गुरुङ्गले निरीक्षण गरेका हुन् । यसैगरी उनले नवलपुरको पहाडी क्षेत्रमा रहेको धार्मिक एवंम् पर्यटकिय क्षेत्र घुमारीघाट, डेढगाउँको अकलादेवी मन्दिर र गुफाको समेत निरीक्षण गरे । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षको ६५ लाख र चालु आर्थिक वर्षको ६५ लाख गरी एक करोड ३० लाख रुपैयाँको लागतमा उक्त मोटरबाटो कालोपत्रेको काम यसै वर्ष सम्पन्न गरिने बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बसन्त कुमालले जानकारी दिए ।
निरीक्षणपछि अकलादेवी मन्दिर परिषरमा स्थानीयसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले नवलपुरको पहाडी क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्नेमा जोड दिए । नवलपुरको पहाडी क्षेत्रमा विद्युत नपुगेको क्षेत्रमा बिजुली बाल्न र स्वच्छ पिउने पानीको उचित व्यवस्था गर्न प्रदेश सरकार तदारुकताका साथ लागि परेको बताए ।
कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना, उपाध्यक्ष मायादेवी श्रेष्ठ, बौदीकाली–२ का वडाध्यक्ष बालप्रसाद ठाडा, नेकपा बौदीकालीका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, समाजसेवी होमनाथ भट्टराईलगायतले नवलपुर जिल्लाको पहाडी क्षेत्रको समस्या र विकास निर्माण र योजनाबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।
























