क्रिकेट

ओमान टि–ट्वान्टी ऋंखलाः नेपालको विजयी सुरुवात, हङकङ ४ विकेटले पराजित

Banner

काठमाडौं, असोज १९–

ओमानमा जारी पाँच देशबीचको टि–ट्वान्टी ऋंखलामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा विनोद भण्डारीको नटआउट अर्धशतकिय पारीको मद्धतमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

खराब सुरुवात गरेको नेपाललाई जित दिलाउन विकेट किपर व्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । ४८ बल खेलेका भण्डारीले ३ छक्का र ४ चौकाको मद्धतमा ५८ रनमा नटआउट रहे । यस्तै आरिफ शेखले २८, सोमपाल कामीले १३, पवन सराफले १० रन बनाए । कप्तान पारस खड्का पहिलो बलमै खाता नखोल्दै आउट भए भने दीपेन्द्र सिंह ऐरी ६, रोहित कुमार पौडेल ५ रनमा आउट भए भने करन केसी एक रनमा नटआउट रहे । १२६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाउन पुग्यो । नेपालको स्कोर १४ रन हुँदा पवन सराफ आउट भए भने २७ रनमा तेस्रो र ३६ रन हुँदा नेपालले चौथो विकेट गुमाएको थियो । नेपालको धर्मराएको पारीलाई विनोद भण्डारी एक्लैले जितसम्म लगेका थिए ।

हङकङका क्रिस्टि र नसरुला रानाले समान २/२ विकेट लिए भने इशान खान र शाहले १ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १२५ रन जोडेको थियो । उसका लागि वाकस बरकातले सर्वाधिक ३७ रन बनाए भने केडी शाहले ३१ रन बनाए । नेपालका लागि करन केसीले ४ ओभरमा ३६ रन खर्चिएर ४ विकेट लिए भने अभिनास बोहराले एक विकेट लिए ।

जितसंगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा लगातार दुई जित हात पारेको आयोजक ओमान ४ अंकका साथ पहिलो स्थानमा रहेको छ । दुई खेलमा एक जित र एक हार व्यहोरेको टेष्ट राष्ट्र आयरल्याण्ड तेस्रो स्थानमा छ भने पहिलो खेलमा पराजित नेदरल्याण्ड चौथो र लगातार दुई खेलमा पराजित हङकङ पुछारमा रहेको छ । आज भएको पहिलो खेलमा ओमानले टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै महत्वपूर्ण अंक जोडेको थियो । हङकङ भने पहिलो खेलमा ओमानसंग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>