चितवन विशेष
भरतपुरमा डोको नाम्लो किसान घरः जुम्लाको स्याउदेखि सल्यानी अदुवासम्म

चितवन,असोज १३-
स्वदेशी र विषादीरहित खाद्य सामग्रीलाई बिक्री गर्ने उद्देश्यले चितवनमा ‘डोको नाम्लो किसान घर’ संचालनमा आएको छ । पूर्वदेखि पश्चिमसम्मका पोषणयुक्त प्राङ्गारिक, रैथाने र प्राकृतिक खाद्य सामाग्रीलाई बिक्री गर्ने उद्देश्यले भरतपुर महानगरपालिका वडा नम्बर १० मा किसान घर सञ्चालनमा आएको हो ।
किसान घरका सञ्चालक भरत दवाडीले इलामको चिया, अकबरे खुर्सानी, सल्यानी अदुवा/बेसारको धुलो, जिम्बु, दाल, च्याख्ला, पिठोलगायतका पोषणयुक्त खाद्य सामग्रीे किसान घरमा राखिएको बताए । घटस्थापनाका दिन भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् भरतपुर महानगरपलिका प्रवक्ता अरुणपीडित भण्डारीले ‘डोको नाम्लो किसान घर’को उद्घाटन गरे ।
वातावरण विज्ञान विषयमा स्नातकोत्तर गरेका संचालक दवाडीले ‘स्वरोजगार युवा स्वास्थ्यकर स्वदेशी उत्पादनले बन्छ समृद्ध राष्ट्र’ भन्ने सोचले नेपालमानै फरक ढंगले व्यवसाय सुरु गर्न लागेको बताएका छन् । दुई वर्षको अवधिमा नेपालका मुख्य सहरहरुमा आफुले उत्पादन गरेको र किसानबाट खरीद गरेका पोषणयुक्त प्राङ्गारिक र रैथाने खाद्य सामग्री पु¥याउने लक्ष्य रहेको उनले बताए । दुई वर्षपछि नेपाली उत्पादनलाई डोको नाम्लो किसान घर मार्फत विदेशमा समेत निर्यात गर्ने उनको लक्ष्य छ ।