चितवन विशेष

चितवनमा बदलिँदै महिला : उधमशील बन्ने क्रम बढ्यो

Banner

निशा श्रेष्ठ

चितवन, असोज १२

चितवनमा पछिल्लो समय महिलाहरु व्यवसायमा लाग्ने क्रम बढ्दै गएको छ । केही वर्षअघिसम्म घरको चुलोचौकोमा सिमित महिलाहरु अहिले धमाधम लाखौंका कम्पनीहरुको व्यवस्थापन समालेर बसेका भेटिन्छन् । भरतपुरको हाकिमचोक नारायणगढदेखि पूर्वचितवनको भण्डारा, पश्चिमको मेघौली र माडीसम्म पनि महिलाहरुका नयाँ नयाँ व्यवसाय देख्न सकिन्छ ।

उद्योग वाणिज्य संघ चितवनमा गत साउनसम्ममा ४५८ जना महिला व्यवसायीले व्यवसाय दर्ता गरेको देखिन्छ जसमध्ये २४९ जनाले आफैले उद्योग सञ्चालन गर्दै आएका छन् । संघमा दर्ता नभएका तर घरेलु तथा साना उद्योगमा दर्ता भएका महिलाको संख्या झनै धेरै देखिन्छ । चितवन उधोग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले पछिल्लो समय चितवनमा महिला व्यवसायीहरु बढिरहेको बताए । उनले भने, ‘ हरेक दुई वर्षमा हुने चितवन महोत्सवमा महिलाले नयाँ उधमहरु प्रस्तुत गरिरहेका छन् । महिलाहरु उधमशिलता तथा व्यवसायमा प्रेरित बन्दै गएका छन् ।’ उधोग वाणिज्य संघले पनि महिलालाई व्यवसायमा प्रोत्साहन गर्नको लागि महिला लक्षित तालिमहरु प्रदान गर्दै आइरहेको उनको भनाइ छ ।

यस्तै पछिल्लो समयमा उधोग वाणिज्य संघले महिलाहरुकै नेतृत्वमा ‘कोशेली घर’ सञ्चालमा ल्याएको छ । जसमा महिलाले उत्पादन गर्ने खाद्यसामग्रीलगायत चितवन जिल्ला वरपरका उत्पादनलाई बिक्रीवितरणका लागि सो सञ्चालन गरिएको बताए । यसले महिला उधमलाई थप टेवा पुग्ने उनले बताए ।  महिला उधमी मञ्च चितवनकी अध्यक्ष सुधा पौडेलले अहिले चितवनमा ३०० भन्दा बढी महिलाले व्यवसाय दर्ता गरेर अगाडि बढिरहेको बताइन् । महिला उधमी मञ्चले उधमी प्रवद्र्धन एवम् एकीकृत गर्नका लागि काम गरिरहेको उनले जानकारी दिइन् । मञ्चमा दर्ता नगरीकन पनि सानातिना पसल र व्यवसाय गर्नेको संख्या झनै ठूलो देखिन्छ ।

शिक्षा र चेतनाको स्तर बढ्दै गएदेखिनै महिलाहरु पुरुषसरह नै व्यवसायमा अग्रसर हुँदै जानु समाजको लागि सकारात्मक विषय हो । कवि एवम् समालोचक सरिता तिवारीले पछिल्लो समयमा पुरुषहरु विदेश गइरहदा महिलाहरुले सानो भए पनि व्यापार लधुउधम सञ्चालन गरिरहेको बताइन् । उनले गाउँबाट सहर पसेका महिला दिदीबहिनीहरु ब्युटीपार्लर जस्ता व्यवसायमा आर्कर्षित भइरहेको बताइन् । उनले भनिन्, ‘बजारका साना ठूला व्यवसायमा महिलाले चलाएको पाइएको छ । व्यवसायले पछिल्लो समयमा महिलाको क्रयशक्ति बढिरहेको र यसले अर्थिकरुपमा आत्मनिर्भर हुने आत्मविश्वासका साथै सम्मान पनि मिलिरहेको छ ।’

धेरै बेरोजगार महिलाहरुको अहिले व्युटीपार्लर व्यवसाय सञ्चालन गरेर पनि बसेका देखिन्छन् । तर, यस्ता पार्लरहरु साना पसलदेखि ठूलाठूला ट्रेनिङ सेन्टरसम्म रहेका छन् । चितवनमा महिला व्यवसायीले सञ्चालन गरेको सफल व्यवसाय फेमिना ब्युट्री पार्लर एन्ड ट्रेण्डिङ सेन्टर पनि हो । १८ वर्ष पार गरिसकेको यो पार्लरमा धैरैले तालिम लिएर आत्मनिर्भर बनेका उदाहरण छन् । फेमिना ब्युट्री पार्लरको सञ्चालिका पिन्की लामा श्रेष्ठ इच्छा, आत्मविश्वास र निरन्तरताले यो सेन्टर अहिले चितवनमा लोकप्रिय बन्दै गएको देखिन्छ ।

विसं २०५२ /५३ सालतिर काठमाडौमा गएर व्युटीसियन र फेसन डिजाइनको तालिम लिएपश्चात २०५८ सालमा सोममाया लामा र पिन्की लामा श्रेष्ठ दिदीबहिनीले यो व्यवसाय सञ्चालन गरेका हुन् । नारायगढबाट सुरु गरेको यो व्यवसायले उनीहरुमा आत्मविश्वास मात्रै नभएर आर्थिक सक्षमता पनि प्रदान गरेको छ ।

पार्लरमा सुरुको अवस्थाबाट निरन्तर अहिलेसम्म व्युटीसियनसम्बन्धी तालिम तथा मेकअपका सेवा दिइरहेको उनको भनाइ छ । व्यवसाय सुरुगर्दा सानो लगानी र शून्य अवस्थाबाट सुरु गरे पनि व्यवसायप्रतिको लगाब र इच्छाशक्तिले गर्दा नै आज सफलता हात पारेको पिन्की लामा श्रेष्ठले बताउँछिन् । उनले भनिन्, ‘महिलाहरु पनि आर्थिक रुपले दरिलो र सक्षम हुन आवश्यक छ, त्यसको लागि केही न केही सीप र ज्ञानले सघाउ पु¥याउँछ ।’ उनको तर्क छ ‘आजभोलि धेरै लगानीमा व्यवसायहरु धमाधम खोलिरहेका छन् । तर, उचित सीप र ज्ञान भएमा पार्लरबाट थोरै लगानीमा नै धेरै कमाउन सकिन्छ ।’

श्रेष्ठले भनिन्, ‘मैले यही पेसा गरेर गाडी चढेर हिड्छु यो व्यवसायले दिएको एउटा सफलता मात्रै नभएर महिला उधमशील भएर अगाडि कसरी बढ्न सकिन्छ भन्ने पाटो पनि हो । हामीले सिकाएको धेरै विद्यार्थी विदेश जादा पनि सीप लिएर गएर राम्रो कमाइरहेका छन् अझै नेपालमै बसेर व्यवसाय सुरु गरेका पनि थुप्रै छन् ।’ उनले उचित सीप भएपछि धेरै लगानी पनि नचाहिने सिमित उपकरणमा चलाएता मात्रै पनि पैसा कमाउन सकिन्छ । कैची, धागोको विशुद्ध मिहिनेतले मात्रै पनि सजिलै आउट पुट निकाल्न सकिन्छ ।

यस्तै सोममाया अमेरिकाको १३ वर्षको ब्युटीसियनको अनुभवसहित नयाँ थप सेवासहित भरतपुर नहरचोकमा सेवा विस्तार गरेका छन् । उनले विदेश नै गए पनि सीप र ज्ञान लिएर जादा आफू कहिल्यै निराश हुनु नपर्ने बताउँछिन् । व्यवसायमा सधै आफूले के दिइन्छ त्यो नै महत्वपूर्ण रहेको सोममायको अनुभव छ । जती गुणस्तरीय सेवा दिइन्छ उत्ति नै टिक्न सकिने उनीहरुको निरन्तरको अनुभवले बताउँछ ।
त्यसैगरी उद्योग वाणिज्य संघ चितवनबाट उत्कृष्ट महिला व्यवसायीको रुपमा सम्मानित सकुन्तला प्रधान ‘प्रधान व्याग उद्योग’ की मालिक हुन् । घरपरिवारको सहयोग पाएमा महिलालाई व्यवसायमा लाग्न सहज नै भएको बताउँछिन् । भरतपुरमा विगत ११ वर्षदेखि फाइबर उद्योग सञ्चालन गर्दै आएकी दक्षिणा न्यौपानेले महिलाले उद्यम सञ्चालन गर्दा संघर्ष त गर्नुपर्छ त्यसको साथै अवसर पनि रहेको बताउँछिन् । सरकारले पनि दर्ता प्रक्रियामा पनि केही छुट दिएकोले पनि व्यवसाय गर्न सजिलो हुँदै गएको बताइन् । पछिल्लो समयमा चितवनको चनौलीमा पनि महिलाहरुकै लगानीमा ‘साइनो एफएम’ सञ्चालनमा आएको छ । जसको अध्यक्ष सिर्जना अर्याल रहेकी छन् । जेहोस् घरको साँघुरो घेराबाट बाहिर निस्किएर आर्थिक आर्जन गरी आत्मनिर्भरताको बाटो समात्नु निकै सकारात्मक विषय हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>