नवलपुर

गैँडाकोटका सबै विद्यालयमा एउटै पोशाक हुने

Banner

नवलपुर असोज १२-

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो ।

गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक हुनुपर्ने भन्दै सबै विद्यालयलाई परिपत्र गरेको छ । हामी सबै समान छौँ भन्ने भावनाको विकास गराउन विद्यालय पोशाकमा एकरुपता ल्याउन लागिएको गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले बताउनुभयो ।

सबै विद्यालयको पाठ्यक्रम एउटै भएपछि पोशाकसमेत एउटै हुनुपर्छ भन्ने आधारमा विद्यालको पोशाकमा एकरुपता ल्याउन लागिएको नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले बताउनुभयो । शिक्षा शाखा प्रमुख चापागार्इंका अनुसार विद्यार्थीको सर्ट नीलो रङ्गको, पाइन्ट÷स्कर्ट÷कोट खरानी रङ्गको, रिबन रातो, जुत्ता कालो तथा मोजा नीलो हुनुपर्नेछ । मङ्गलबार र शुक्रबार भने विद्यालयले आफ्नो तरिकाले पोशाक निर्धारण गर्न पाउनेछन् ।

त्यसैगरी विद्यालयको भवन र सवारीसाधनको रङमा समेत एकरुपता ल्याउनका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ बाट विद्यालय भवनको बाहिरी रङ पहेँलो, छानो रातो, झ्याल सेतो वा खैरो, भवनको भित्री कोठा हस्तीहाड रङको बनाउन संस्थागत र सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै विद्यालय ओसार्न प्रयोग हुने सवारीसाधनको रङसमेत पहेँलो बनाउन निर्देशन दिइएको चापागार्इंले बताउनुभयो । सामुदायिक विद्यालयको रङरोगनका लागि भने गैँडाकोट नगरपालिकाले केही रकम प्रदान गर्ने भएको छ । माध्यमिक तहसम्म सञ्चालन भएको सामुदायिक विद्यालयलाई रु ७५ हजार, आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयलाई रु ५० हजार र आधारभूत तह कक्षा ५ सम्म सञ्चालन भएको विद्यालयलाई रु ३५ हजार उपलब्ध गराइने चापागाईले बताउनुभयो ।

विद्यालयको रङ देखेपछि शैक्षिक संस्थाको नजीकमा पुगेको बोध होस् भनेर नगर क्षेत्रका सबै विद्यालयलाई एकै प्रकारको रङ लगाउन निर्देशन दिइएको चापागाईंले बताउनुभयो । गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक तथा २० वटा संस्थागत विद्यालय रहेको चापागाईंले बताउनुभयो । यहाँका विद्यालयमा करीब २० हजार विद्यार्थी अध्ययनरत छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>