नवलपुर

नवलपुरमा संविधान दिवस मनाईयो, संविधान विरोधी कार्यक्रममा प्रहरीको हस्तक्षेप

Banner

विजय चालिसे

नवलपुर, असोज ३–

संविधान जारी भएको दिनको अवसरमा आज नवलपुरसहित देशैभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।

दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समिति नवलपुरले विशेष कार्यक्रम सम्पन्न गरेको छ । कावासोती नगरपालिका–१६ डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरले लामो संघर्षबाट प्राप्त जनताको संविधान कार्यान्वयन गर्न सबै एक जुट हुनुपर्ने बताए ।

संविधान जारी भएपछि धेरै उपलब्धिपूर्ण काम भएको भन्दै उनले संविधानमा केहिको असहमति भएपनि त्यसलाई संशोधन गर्न सकिने भएकाले संविधान कार्यान्वयनको प्रक्रियामा सबै लाग्नुपर्नेमा जोड दिए । संविधान दिवसकै अवसरमा मध्यविन्दु जिल्ला अस्पताल परिसरमा वृक्षरोपण गरिएको छ भने अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो । जिल्ला समन्वय प्रमुख चेसराम आलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, स्थानियलगायतको सहभागिता रहेको थियो ।

यसैबिच, आदिवासी जनजाती समूह, थारु कल्याणकारिणी सभा नवलपुरसहितका विभिन्न आदीवासी जनजाती संगठनले आयोजना गरेको संविधान विरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेपको प्रयास गरेको छ । कावासोती–१६ डण्डा बजारमा आयोजना गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेपको प्रयास गरेको हो । गैंडा चोकमा कालो झण्डा गाडेर शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रिएकाहरुलाई प्रहरीले माथिको आदेश भन्दै झण्डा निकाल्न आग्रह गरेको थियो । यद्यपी प्रदर्शनकारीहरुले झण्डा निकाल्न नदिएपछि केहीबेर दुवै पक्षबीच भनाभन समेत भएको थियो । कार्यक्रम सकिए लगत्तै प्रहरीले कालो झण्डा र व्यानर आफ्नो नियन्त्रणमा लिएको छ ।

४ वर्षअघि २०७२ असोज ३ गते दोस्रो संविधान सभाबाट संविधान जारी भएको थियो । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>