देश/प्रदेश
संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छः सभापति देउवा

काठमाडौं, असोज ३–
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
उनले आज एक विज्ञप्तिमार्फत दिवसले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास लिएका छन् ।
साथै उनले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् । सभापति देउवाले संविधान दिवसका अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
“नेपाली काँग्रेससको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरीबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली काँग्रेसको विचार र सङ्कल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको सभापति देउवाले उल्लेख गरेका छन् ।