नवलपुर

बालविकास सहयोगीको हडतालले नवलपुरको बुलिङटारमा पठनपाठन अवरुद्ध

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौं  २४

नवलपुरको बुलिङटार गाउँपालिकामा मंगलबार विद्यालयको पठनपाठन अवरुद्ध बनेको छ ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताले विद्यालय बन्द गरेका हुन् । पारिश्रमिक वृद्धिको माग राख्दै उनीहरुले मंगलबार गाउँपालिकामा विद्यालय बन्द गरेका छन् । न्यून पारिश्रमिक छ हजार रुपैयाँमा मात्रै काम गर्नु पर्दा समस्या परेको भन्दै उनीहरुले बुलिङटार गाउँपालिकामा पटकपटक ध्यानाकर्षण गराएका थिए । गाउँपालिकाबाट पारिश्रमिक वृद्धिका लागि कुनै पनि पहल नभएको भन्दै चेतावनी स्वरुप एक दिन विद्यालय बन्द गरेको सहयोगी कार्यकर्ताकी अध्यक्ष बसन्ती विकले बताइन् ।

‘विकट क्षेत्रमा जम्मा छ हजार रुपैयाँमा काम गर्नुपरेको छ । मेहेनत अनुसारको पारिश्रमिक पाइएको छैन । गाउँपालिकामा पटक पटक भन्यौं तर गर्छौ भन्ने आश्वासन मात्रै पायौ पारिश्रमिक बृद्धि भएन । ’ विकले भनिन् । विकले आफूहरुको माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने बताइन् । गाउँपालिका अध्यक्ष शशीकिरण वस्ताकोटीले सहयोगी कार्यकर्ताको मागलाई कार्यपालिका बैठक राखेर जायज माग सम्बोधन गर्न पहल गर्ने बताएका छन् । तलब वृद्धिका लागि स्रोतसमेत चाहिने हुँदा सहजै स्रोत जुटाउन अप्ठेरो पर्ने भएकाले यस विषयमा बैठकबाट निष्कर्ष निकालिने वस्ताकोटीको भनाइ छ ।

सहयोगी कार्यकताले गाउँपालिका भित्रका प्रधानाध्यापकसँग छलफल गरी आफ्ना मागका बारेमा जानकारी गराएको र सहयोगका लागि आग्रह गरेकाले गाउँपालिकाका साुमदायिक विद्यालय मंगलबार बन्द भएको बुलिङटार तीनमा रहेको त्रिभुवन माविका प्रध्यानाअध्यापक शम्भु वस्ताकोटीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>