नवलपुर
निजामती कर्मचारीद्वारा नवलपुरको टरुवा तालमा सरसफाइ

ज्ञानु पंगेनी
नवलपुर, भदौं २१-
नवलपुरमा कार्यरत निजामती कर्मचारीले कावासोती नगरपालिका–७ मा रहेको टरुवा तालको शनिबार सरसफाइ गरेका छन् ।
नेपाल निजामती सेवा दिवस–२०७६ को अवसर पारेर कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा तालको सरसफाइ गरिएको हो । ताल सफा गर्न नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेत परिचालन गरिएको थियो । ताल सफा गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेल, कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव कृष्णचन्द्र पोख्रेलसहितका टोलीले ताल सफा गरी उद्घाटन गरेका थिए ।
करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको ताल कर्मचारी मिलन केन्द्र नवलपुरमा आबद्ध कर्मचारीहरुले सफा गरेका हुन् । ऐतिहासिक एवम् पर्यटकीय सिमसार स्थल टरुवा तालको सरसफाइ नहँुदा जलकुम्भीलगायतका अनावश्यक झारले भरिएर तालको मौलिकता नै लोप हुने अवस्थामा पुगेको थियो । तालको सरसफाइले सिमसार क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सरसफाई गरिएको कर्मचारी मिलन केन्द्रका कृष्णचन्द्र पोख्रेलले बताए ।
ताल क्षेत्र केही वर्ष यता सरसफाई समेत हुन नसकेको अवस्थामा तालको मुहार नै कुरुप बन्दै गएको थियो । तालमा झारहरु पलाउने, भल माटो गएर थुप्रिने गरेकाले सतह बढ्दै जादा तालको अस्तित्व नै संकटमा पर्ने अवस्था आएकाले सरसफाइ गरिएको पोख्रेलले बताए ।
कावासोती क्षेत्रमा खानेपानीको सहजता नहँुदा कावासोती क्षेत्रका बासिन्दाले यही तालको पानी पिउँथे । अहिले पनि गर्मीको मौसममा मुलको चिसो पानी हुने भएकाले यस तालमा टाढा टाढाबाट सवारीमा नै आएर पानि लैजाने गर्छन् ।
























