नवलपुर

लघुवित्त परियोजनाले दिव्यपुरीका महिलाहरु उद्यमशील बन्दै

Banner

केबी राना

नवलपुर, भदौं १९

नवलपुरको देवचुली नगरपालिका–२ मा सञ्चालित महिला किसानको जीविकोपार्जन तथा आर्थिक उत्थानका लागि लघुबित्त कार्यक्रम प्रभावकारी बनेपछि दुई वर्ष परियोजना अवधि थप गरेको छ ।

दोस्रो चरण परियोजना सम्झौता देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ, चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन कन्ट्रि डिरेक्टर जियो जिक्यङ, बेइजिङका निर्देशक वाङ जुन, सफा सुनौलो नेपालका महासचिव राकेश हमाल, देवचुलीको विभिन्न वडाका वडाअध्यक्षहरुको रोहबरमा भएको थियो ।

देवचुलीका प्रमुख श्रेष्ठले चीनको सफल अभ्यास देवचुलीमा सुरुवात गरी समय अवधि थप गर्नु स्वागत योग्य भएको भन्दै यस परियोजना सञ्चालनका लागि स्थानीय सरकारको पूर्ण साथ, समन्वय र सहयोग रहने बाचा गरे । उनले परियोजनाले छोटो अवधिमै दिव्यपुरीका महिलामा आर्थिक विकास, उद्यमशिलताको विकास सकारात्मक परिवर्तन देखिएकाले दोस्रो चरणको परियोजना थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

चाइना फाउण्डेसनले चीनको गरिबी निवारणमा खेलेको सकारात्मक अभ्यासलाई नेपालमा नमुना परियोजनाको रुपमा एक वर्षदेखि सञ्चालन गर्दै आइरहेको चाइना फाउण्डेसनका कन्ट्री डिरेक्टर जियो जिक्यङले जानकारी दिए । यस परियोजनाको पहिलो एक वर्षीय नमुना परियोजना सफल भएकाले अझ दुई वर्षको लागि थप गरेको र अन्य क्षेत्रमा समेत यो परियोजना विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
गत वर्षदेखि सञ्चालित यो परियोजनाबाट दिव्यपुरीका १०० महिला उद्यमीहरु लाभान्वित भएको सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए । गत वर्ष ३७ लाख ऋण अनुदान दिएपछि उक्त रकमबाट यहाँका किसानले बाख्रापालन, भैसी, बंगुरपालन किराना पसल सञ्चालनलगायत घरेलु उद्योगहरु सञ्चालन गरी आर्थिक सुधार भएको सचिव हमालको भनाइ छ ।

जनही ५० हजारसम्म ऋण अनुदान दिनुका साथै व्यवसायिक विकास, सहकारी व्यवस्थापन, आर्थिक शिक्षासम्बन्धी तालिम सञ्चालन गरेकाले यो परियोजना थप प्रभावकारी भएको साझेदार संस्था किसान कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी वस्ताकोटीले बताइन् । ऋण अनुदान रकम किसानलाई पाँच प्रतिशत व्याज लिने र उक्त व्याजबाट प्राप्त रकमले कार्यालय व्यवस्थापन, प्रशासनिक खर्च सञ्चालन गर्ने गरेको कार्यक्रम निर्देशक दिपक रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>