देश/प्रदेश
अफगानिस्तानमा भएको बम विस्फोटमा चितवनका कृष्ण थापाको मृत्यु

काठमाडौँ, भदौं १८-
अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार भएको बम बिस्फोटमा चितवनका एक युवाको मृत्यु भएको छ ।
विस्फोटमा चितवनका कृष्ण थापासहित दुई नेपालीको ज्यान गएको हो । ‘कृष्ण थापा तैनाथ रहेकै पोष्ट नजिक बिस्फोट भएपछि उनको तत्कालै मृत्यु भएछ,’ स्रोतले भन्यो, ‘ अर्का नेपाली रोल्पाका चन्द्र पुन भने अफ ड्युटीमा रहेछन् । बिस्फोटपछि कभर दिन जाँदा आतंकवादीको गोली लागेछ ।’
घटनामा कम्तीमा नेपालीसहित स्थानीय गरी १६ जनाको ज्यान गएको छ भने ११९ जना घाइते छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा दुई नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ । केही समय यता अफगानिस्तानसमेत दिल्ली दूतावासले हेर्ने गरेको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए ।
घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ । सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए।
‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने । उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४ र ५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोाबारी गरेका थिए । मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको बस्तीका बासिन्दा छन् ।’ बिस्फोटका लागि ट्रक नै प्रयोग गरिएको त्यहाँ कार्यरत नेपाली साथीहरुले आफूलाई जानकारी दिएको उनले बताए ।
ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन परिसर हो। काबुलबाट जलालावाद जाने राजमार्गको किनारमै रहेको क्याम्प जाने बाटोको दाँयातर्फ भने स्थानीय बस्ती छ । क्याम्पमा भएको आत्मघाती बिस्फोटपछि त्यहाँ रहेका ४०० जना विदेशीलाई अर्को सुरक्षित स्थानमा सारिएको थियो।
आत्मघाती हमलाको जिम्मा तालिवान समूहले लिएको छ। उसले विदेशी सैनिकलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तालिवानले उक्त भवनमा सशस्त्र लडाकुहरू रहेको दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ । ग्रीन पार्कमा भएको यो पाँचौं ठूलो हमला हो । २०७३ असार ६ गते काबुलमै नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बम बिस्फोट हुँदा १४ नेपालीको मृत्यु भएको थियो ।