देश/प्रदेश
हिन्दू युवा संघले सरकारलाई दियो अल्टिमेटम: गौहत्यारालाई पक्राउ नगरे नेपाल बन्द गर्ने चेतावनी

काठमाडौं, भदौं १७-
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले गौं हत्याको दोषी पत्ता लगाउन सरकारलाई अल्टिमेटम दिएको छ ।
यही भदौं २४ गतेसम्म गौं हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको हो । आज समितिले रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर ३७ गाईको हत्या एवम् ८६ वटा गाई घाइते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ ।
समितिका महासचिव रोशनजङ बस्नेतको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘ सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौमाताको दूध मात्र नभएर गौमुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौमाताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन ।’ कार्यक्रममा बैंक्टेश्वर पीठाधीश पदमधराचार्यले गौं–संरक्षणमा लाग्नको लागि जोड दिएका छन् । उनले गौं–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिकरुपमा निकम्मा सावित हुने दाबी गरे । हालै भएको गौं–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्वसांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए । उनले भने,‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घटनास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रकमा गाईहरुलाई कोचेर भीरमा लगि फालिएको प्रष्ट देखिन्छ ।
जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आइरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भइरहेको पनि सुनाए । उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपूर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्य पनि गलत रहेको टिप्पणी गरे ।
कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भीर आरोप लगाए । उनले भने,‘यो घटना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भीर र निश्पक्ष छानबिन हुनुपर्छ ।’
थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घटनाका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए । उनले भने, ‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ । विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’ उनले पनि बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप कुनै पनि हालतमा आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । उनले आजैबाट आफूहरुले आरतीअघि बजाउन भनिएको राष्ट्रिगान बजाउन नदिने पनि चेतावनी दिएका छन् ।
विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीका उपसभापति दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए । उनले सरकारको यस्तो गलत कार्यको आफूहरुले निन्दा गरेको पनि सुनाए । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप भएको भन्दै आपत्ति जनाए । विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता शरदचन्द्र दाहालले अहिले बढेको बेधर्मी कदमलाई रोक्नको लागि राजासहितको हिन्दूअधिराज्यले मात्रै सम्भव हुने बताए । दाहालले गौहत्या नरोकिए भोलिका दिनमा सन्तमहन्तलाई पनि भीरबाट लगेर खसाल्नेसम्मको षड्यन्त्र हुनसक्ने खतरा औंल्याए । विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले गौमाताको हत्यालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरे । उनले उक्त गौहत्याको निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । त्यस्तै, उनले वाग्मती गंगा आरतीमा राष्ट्रिय गानको नाममा भएको सरकारी हस्तक्षेपको निन्दा गरे ।
कार्यक्रममा भागवत बाचिका अनुराधा शास्त्रीले गौमाता जनावरमात्रै नभएर प्रकति पूजक रहेको बताउँदै गाईबाट असंख्य अक्सिजनसमेत प्राप्त हुने कुरा उल्लेख गरिन् । उनले पनि गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन् ।
समितिले उक्त घटना नियोजित रुपमा घटाइएको हुनसक्ने पनि आशंका व्यक्त गरेको छ । समितिले सार्वजनिक गरेको कार्यक्रममा यही भदौ १९ गते देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २० गते धार्मिक संघसंस्थाबीच अन्तरक्रिया गर्ने, भदौ २१ गते बिहान सरकारको सद्बुद्धिको कामना गर्दा कमलादी गणेशस्थानमा पूजाआजा गर्ने, भदौ २३ गते महासंघ परिसरमा हत्या गरिएको गौ–माताहरुको चीर शान्तिको लागि श्रद्धाञ्जली सभा गर्ने, भदो २४ गते नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालययमा ज्ञापनपत्र बुझाउने रहेका छन् ।
भदौ २४ गतेसम्म पनि आफ्ना मागहरु पूरा नभए र सरकारले ध्यान नदिए बाध्य भएर दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न पनि आफूहरु बाध्य हुने समितिका अध्यक्ष थापाले जनाएका छन् । उनकाअनुसार भदौ २४ गतेपछि हुने आन्दोलनमा काठमाडौं उपत्यका बन्द, नेपाल बन्ददेखि लिएर दशैंको मुखमा तीन तहका सरकार प्रमुखहरुलाई मन्दिर प्रवेशमा निषेध गराउनेसम्मका हुनेछन् ।
























