देश/प्रदेश

हाफ पाइन्ट लगाएर कीर्तिपुरका मेयरलाई भेट्न निषेध

Banner

काठमाडौँ भदौ ११-

कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको समय तोकेको छ ।

हाफ पाइन्ट तथा भड्किला लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । ‘चिनजान मान्छेहरू जुनसुकै समयमा र जस्तोसुकै पोसाकमा आउँछन्,’ उनले भने, ‘भेट्ने समय र पोसाक दुवैलाई मर्यादित बनाउन नियम ल्याएका हौँ ।’ कार्यालय भएपछि भेट्न आउने मान्छेको कमी हुँदैन ।

सबै अफिस तथा कार्यालयमा व्यक्तिगत भेटघाट २ बजेपछि मात्र हुने हुँदा यस्तो नियम ल्याएको उनले बताए । भेटघाट मात्र गर्ने होभने अफिसको काम गर्न समय नपुग्ने उनको भनाइ छ । सेवाग्राहीले भने जुनसुकै समयमा भेट्न मिल्ने उनले बताए । सेवाग्राहीभन्दा पनि बढी चिनजानेका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउने गरेको उनको अनुभव छ ।

नगरपालिकाले अफिस भएका कारण मर्यादित पोसाकमा आउन अनुरोध गरेको जनाएको छ । हालका लागि यो नियम अनिवार्य नगरे पनि नगरबासीको प्रतिक्रिया हेरेर अनिवार्य गरिने छ । अहिले हाफ पाइन्ट लगाएर आउनेलाई सम्झाएर पठाउने गरेको छ ।

उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काका अनुसार प्रहरी कार्यालय तथा अदालतमा पनि हाल्फ पाइन्ट, ग्रन्ज पाइन्टलगाएर प्रवेश पाइदैन । उनले भनिन्, ‘त्यसैले नगरपालिका पनि एउटा कार्यालय भएकाले मर्यादित बनाउन खोजेका हौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>