नवलपुर

नवलपुरमा वन्यजन्तु पीडितलाई १० लाख बढी क्षतिपूर्ति  प्रदान

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौं ५-

नवलपुरको गैँडाकोट र मध्यबिन्दु नगरपालिकाका वन्यजन्तु पीडितहरुलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

वन्यजन्तुको आक्रमणबाट घाइते भएका चार जनालाई उपचार खर्च बापतको क्षतिपूर्ति प्रदान गरिएको हो । गैँडाको आक्रमणबाट घाइते भएका चार जना र चौंपायामा पु¥याएको क्षतिपूर्ति वापत १० लाख ४१ हजार ७८६ रुपैँयाँ क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पुर्णेश्वर सुवेदीले बताए ।

गैँडाकोट नगरपालिकामा बिहीबार औपचारिक कार्यक्रम गरेर क्षतिपूर्ति रकम वितरण गरिएको हो । गत वर्ष बस्तीमा पसेको गैँडाले आक्रमण गर्दा घाइते भएका चारजनालाई उनीहरुको निवेदनको आधारमा राहत वितरण सिफारिस समितिको निर्णय अनुसार संघीय  वन तथा वातावरण मन्त्रालयले क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । चारै जनालाई चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको  गैँडाले  आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट घाइते भएका मध्यबिन्दु नगरपालिका –१० का गजेसिंह पाटालाई उपचार खर्चको क्षतिपूर्तिस्वरुप  तीन लाख  १३ हजार २६३  रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै गैँडाको आक्रमणबाट घाइते गैँडाकोट नगरपालिका –२, का आइतबहादुर बोटेलाई तीन लाख ४८ हजार ७६८  रुपैयाँ , गैँडाकोट –५ का बुद्धबहादुर गुरुङलाई  एक लाख ६५ हजार ७३०  रुपैयाँ र सोही स्थानका चन्द्रमणि शर्मालाई  एक लाख ६५ हजार ८७० रुपैयाँ  क्षतिपूर्ति बापतको रकम प्रदान गरिएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट चौपायामा भएको क्षतिको समेत क्षतिपूर्ति उपलब्ध गराइएको छ । मध्यबिन्दु–५ का मन भण्डारीको बाघको आक्रमणबाट तीन वटा बाख्रा मरेकाले सो वापत  ३० हजार प्रदान गरिएको छ । मध्यबिन्दु–६ का महारुद्र भुसाल र गंगाबहादुर मगरको चौपाया बाघको आक्रमणबाट मरेका थिए । उनीहरुले क्रमशः  १० हजार र  ८ हजार १५५ रुपैयाँ  प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>