नवलपुर

गैँडाकोटका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचारका लागि निर्देशिका बनाइँदै

Banner

नवलपुर भदौ ३-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो ।

नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने गरी निर्देशिका निर्माण भइरहेको नगर स्वास्थ्य संयोजक इन्द्रराज शर्माले बताए। निर्देशिका निर्माण भएपछि कार्यविधि बनाएर काम थाल्ने उनको भनाइ छ । आगामी असोजको पहिलो हप्तादेखि ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्करूपमा विशेषज्ञसहितको टोलीले औषधोपचार गर्ने शर्माले जानकारी दिए ।

नगर स्वास्थ्य केन्द्रले उच्च रक्तचाप, मधुमेह, दमलगायत नियमित उपचार गर्नुपर्ने रोगको निःशुल्क प्रयोगशाला परीक्षण र औषधोपचार गर्ने गरी कार्यविधि निर्माण गरिरहेको छ । केन्द्रको नयाँ कार्यक्रमअनुसार समुदाय लक्षित कार्यक्रम केन्द्रित गरिएको जानकारी दिँदै स्वास्थ्य संयोजक शर्माले समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम भइरहेको बताए ।

गैँडाकोटको पितौजी स्वास्थ्य केन्द्रमा मात्रै रहेको भिडियो एक्स–रे सेवालाई गैँडाकोट स्वास्थ्यचौकीमा विस्तार गर्ने, २४ घण्टे प्रसूति सेवा, सबै प्रकारका खोपलाई भण्डारण गरेर राख्ने, अस्पतालजन्य फोहर व्यवस्थापनका लागि काम गर्ने गरी कार्यविधि निर्माण भएको शर्माले जानकारी दिए ।

पाठेघरको क्यान्सर र स्तनक्यान्सरको स्क्रिनिङ, नगरका १८ वटै वडामा चिकित्सक प्रयोगशालासहित निःशुल्क औषधोपचारका लागि घुम्ती शिविर, वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। यस वर्षको समुदाय लक्षित नियमित र थप कार्यक्रमका लागि रु ९५ लाख बजेट स्वीकृत भएको उनले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>