नवलपुर

नवलपुरमा चैतबाट राष्ट्रिय परिचयपत्र वितरण हुने

Banner

ज्ञानु पँगेनी

नवलपुर, साउन २९–

नवलपुर जिल्लामा आउँदो चैत महिनाबाट राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ ।

देशका अन्य जिल्लाहरुमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको बेला नवलपुरमा भने चैत महिनाबाट मात्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । बुधबार कावासोतीमा आयोजना गरिएको राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा विभागका निर्देशक सुवास ढकालले सो कुराको जानकारी दिएका हुन् । उनले केही समयमा अर्को कार्यक्रम गरी व्यक्तिगत विवरण संकलनका लागि गाउँगाउँमा टोली खटाईने र जिल्ला प्रशाशन कार्यालय मार्फत् आउँदो चैत भित्रबाटै परिचयपत्र वितरणको काम सुरु गर्ने ढकालले जानकारी दिए ।

पहिलो चरण भएकाले नागरिकताकै आधारमा परिचयपत्र प्राप्त गर्न सकिने ढकालले बताए । स्थायी ठेगाना र जन्ममिति पुष्टि गर्ने कागजातको आधारमा पनि प्राप्त गर्न सकिने उनले बताए ।

ढकालका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त भएपछि नागरिकलाई धेरै फाईछ छ । परिचयपत्र आफूसंग राखेपछि नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट हुँदैन । अनलाईनमार्फत् नै नागरिकले आफ्ना धेरै काम गर्न सक्छन् । गोपनियताको हक सुनिश्चित हुने र परिचयका आधारमा हुने ठगी नहुने ढकालले बताए ।
नागरिकता वितरणमा कतिपय ठाउँमा फर्जी काम भईरहेको बेला राष्ट्रिय परिचयपत्र वितरण नितान्त वैज्ञानिक हुने ढकालको भनाई छ ।

नागरिकताजस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइने छैन । त्यसका लागि शुरुमै जैविक परीक्षण गरी विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्ने छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । आँखाको रेटिनासमेत स्क्यान गरेर राखिने र यी विवरण केन्द्रका कर्मचारीले फिल्डमै गएर संकलन गर्ने ढकालको भनाई छ । वैज्ञानिक प्रमाण मानिने बायोमेट्रिक्स डिटेल र रेटिना स्क्यानको विवरण कार्डमा रहने चिपभित्र राखिनेछ, जुन मेशिनले मात्रै रिड गर्न सक्ने ढकालले बताए ।

राष्ट्रिय परिचयपत्रका बारेमा सरोकारवालालाई जानकारी गराउन र सुझाव संकलन गर्ने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, लक्ष्मी सुनार, ओमकला गौतम, प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीसहित जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशाशकिय अधिकृत, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, बुद्धिजिवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>