राजनीति
प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब छ भन्ने प्रचार गलत : प्रचण्डको सचिवालय

काठमाडौं, साउन २८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयले प्रचण्डको दुवई भ्रमणबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ।
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस विज्ञप्ती निकालेर षडयन्त्रपूर्ण र झुठो प्रचार गर्ने तत्वहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तीमा उनले प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुवईमा २१ अर्व रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न प्रचण्ड परिवार दुवई गएको भनेर गलत प्रचार गरिएको उल्लेख गरेका छन्।
‘दिवगंत कमरेड प्रकाश दाहालको नाममा दुवईको बैंकमा २१ अर्व रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुवई गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ’, विज्ञप्तीमा लेखिएको छ।
महराले स्वर्गीय दाहालको विदेशका कुनै पनि बैंकमा खाता र पैसा नरहेको बताउँदै भनेका छन् ‘हामी दिवंगत प्रकाशको नाममा विदेशका कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिन्छौँ।’