नवलपुर
नवलपुरमा भएको वक्तृत्वकला प्रतियोगितामा अनुषा पहिलो
ज्ञानु पंगेनी
नवलपुर, साउन २७-
नवलपुरको कावासोतीमा २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज भएको वक्तृत्वकला प्रतियोगितामा शिव नमूना माविकी अनुषा कुँवर क्षेत्री पहिलो भएकी छन् ।
प्रतियोगितामा शिव नमूना माविकै ईश्वर रेग्मी दोस्रो र जनज्योति मावि देवचुलीका रसिक गौतम तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम भएकी कुँवरले सात हजार नगद र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो हुने रेग्मीले पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे भने तेस्रो हुने गौतमले तीन हजार रुपैयाँ प्रप्त गरे । सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा कावासोती नगरपालिकाभित्रका विभिन्न विद्यालयका १० जना विद्यार्थीको सहभागिता रहेको थियो । रेडियो कावासोती १०२.६ मेघाहर्जको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल युवा संस्था सञ्जाल र हरियाली संस्थाको आयोजनामा भएको थियो । रेडियो कावासोती १०२.६ मेघाहर्जका अध्यक्ष विद्रोही गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै हरियाली संस्थाका अध्यक्ष एलएन दवाडीले युवा भनेको देशको कर्णधार भएकाले युवालाई स्वदेशमै विभिन्न कलकारखाना स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा अहिलेको अवस्थामा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा युवाहरु पलायन हँुदा देशमा समृद्धि आउन नसक्ने प्रमुख अतिथी प्रेम शंकर मर्दनियाले बताए । नगरपालिकाले पनि युवाहरु लक्षित विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको भन्दै आउदा दिनमा पनि युवा लक्षित कार्यक्रम गर्दै जानेमा जोड दिए ।
कार्यक्रममा कावासोती नगरपालिका नगर शिक्षा अधिकृत राजन पाण्डे, शान्ति निकुञ्ज मावि पिठौलीका प्रध्यानाध्यापक हरिप्रसाद न्यौपाने, नेपाल माविका शिक्षक मुक्ति ढकाल, कालीगण्डकी माविका प्रिन्सिपल जगतप्रसाद भट्टराई, हरियाली संस्थाका सुदन लम्साललगायतले बोल्दै अब तिनै तहको सरकारले युवाहरुलाई उद्यमी बनाउन युवा लक्षित विभिन्न अनुदान, सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । हातमा डिग्रीको सर्टिफिकेट हँुदा हुँदै पनि युवाहरु विदेशी भूमिमा भाडा माझ्नुपर्ने अवस्था रहनु दुःखद भएको भन्दै दक्ष युवालाई स्वदेमै बसेर काम गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डे, शान्ति निकुञ्ज मावि पिठौलीका प्रध्यानाध्यापक हरिप्रसाद न्यौपाने, नेपाल माविका शिक्षक मुक्ति ढकाल निर्णायकका रुपमा रहेका थिए । नीति निर्माण गर्ने ठाउँमा भएकाहरुले युवाहरुको बारेमा चिन्तन गर्न आवश्यक रहेको र युवाहरुलाई उद्यमशील बनाउने कुरामा आवश्यक नीति निर्माण गरेर अग्रसर बनाउनतर्फ लाग्न जरुरी रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।