गण्डकी

नवलपुरका परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड’, छात्रामा मनोवैज्ञानिक असर कम हुने आशा

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन २६

नवलपुरमा एसईईको पुरक परीक्षाका लागि तोकिएका चार परीक्षा केन्द्रमा सेनेटरी प्याड राखिने भएको छ ।

एसईईको ग्रेड वृद्धिका लागि परीक्षा हुने केन्द्रहरुमा सेनेटरी प्याड राखिने भएको हो । जिल्लाको सदरमुकाम स्थित शिव मावि, ज्ञानोदय मावि, जीवन ज्योति मावि र शहीद स्मृति माविमा एसईई गे्रडवृद्धिको लागि परीक्षा केन्द्र तोकिएको छ । यी परीक्षा केन्द्रमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो । आइतबार शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखे्रलले केन्द्र तोकिएका विद्यालयका केद्राध्यक्षहरुलाई सेनेटरी प्याड प्रदान गरेका छन् ।

परीक्षा चलिरहँदा महिनावारी भएका छात्राहरु हतोत्साही हुने र परीक्षानै बिगार्ने गरेकाले उनीहरुको सहजता र आत्मबल वृद्धिका लागि सबै परीक्षा केन्द्रमा परीक्षा अवधिभर सेनेटरी प्याड राख्ने प्रबन्ध मिलाएको इकाइ प्रमुख पोखे्रलले बताए । यसले छात्राहरुमा हुने मनोवज्ञानिक असरलाई कम गरी सहज रुपमा परीक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्ने उनले बताए । जागृति बाल तथा युवा सरोकार नेपालले सेनेटरी प्याड उपलब्ध गराएको हो । संस्थाले पछिल्लो समयमा किशोरीहरुमा आत्मरक्षा, किशोरी शिक्षालाई जोड दिँदै आएकाले परीक्षा केन्द्रमा समेत किशोरीहरुलाई पर्न सक्ने समस्याको निराकरणका लागि सेनेटरी प्याड उपलब्ध गराएको संस्थाका महासचिव दिपक शर्माले बताए ।
चारवटै केन्द्रमा सेनेटरी प्याडको व्यवस्था गर्ने गरी केद्राध्यक्षहरुलाई सेनटरी प्याड प्रदान गरिएको हो । भदौ १ गते देखि ११ गतेसम्म सञ्चालन हुन गइरहेको एसईई गे्रड वृद्धिको परीक्षाका लागि नवलपुरबाट एक हजार ३१३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये आधा जति छात्रा रहने अनुमान गरी सोही आधारमा सबै केन्द्रमा सेनेटरी प्याड राखिने छ । चारवटा केन्द्रका लागि एक हजार ९२० थान प्याड प्रदान गरिएको छ ।

भदौं १ गतेबाट हुने परीक्षामा ज्ञानोदय माविबाट ३२३, जीवन ज्योति माविबाट २९७, शहीद स्मृति माविबाट ३०२ र शिव माविबाट ३९१ विद्यार्थीले गे्रडवृद्धिका लागि सहभागिता जनाउँदै छन् ।  ग्रेड वृद्धिका लागि सबैभन्दा धेरै गणित विषयमा एक हजार ९० जनाले परीक्षा दिँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>