चितवन विशेष

परिवारलाई जागिर खुवाएर प्रचण्डको राजनीति कति दिन टिक्छ हेरौंला: कांग्रेस नेता गुरुङ

Banner

चितवन, साउन २५

नेपाली कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङले आफ्ना परिवारका सदस्यलाई जागिर खुवाउन गरेको प्रचण्डको राजनीति धेरै दिन नटिक्ने बताएका छन् ।

भरतपुर महानगरपलिका–२१ पार्वतीपुरमा कांग्रेस चितवनका अग्रज नेता स्वर्गीय खिलाशर्मा घिमिरेकी धर्मपत्नी रेवता घिमिरेको सातौं पुण्यतिथिमा आज आयोजित शोकसभामा उनले यस्तो बताएका हुन् । अहिलेको राजनीति देश र जनताको लागि भन्दा पनि टन्न कमाउँ र मोज गर भन्ने दर्शनबाट अगाडि बढेको उनले आरोप लगाए । उनले भने, ‘ अहिले प्रचण्डको १८ वर्ष पुगेका छोरा, नाति सब पदमा पुगेका छन् । यस्तो अवस्थाले उनको राजनीति कतिदिन टिक्छ हेरौंला ।’ अहिले कम्युनिस्टहरुको राजनीतिमा ढाँटछल गरेर खाने प्रवृत्ति बढेकोमा नेता गुरुङले चिन्ता व्यक्त गरे । उनले भने, ‘आफ्नो छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पढाउने र गरिब नेपालीको छोराछोरीलाई भने युद्धको नाममा लडाउनेहरुलाई अहिले तिनै युवाहरुले प्रश्न गरिरहेका छन् । जसले प्रजातन्त्र र संसदीय व्यवस्थाको विरोध गरे अहिले उनीहरु नै सरकारमा रहेका छन् । यिनीहरुले आफ्नो र परिवारको स्वार्थभन्दा बाहेक केही सोच्न सकेका छैनन् ।’

त्यस्तै शोकसभामा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले कांग्रेसको बीचमा एकता नहुँदा कम्युनिस्टहरुले दुई तिहाई ल्याए पनि कांग्रेसका कार्यकर्ताहरुले आफूलाइ कमजोर ठान्न नहुने बताए । कांग्रेसले लोकतन्त्र स्थापनामा गरेका योगदानहरुलाई सबैको सामु छर्लङ्ग पार्नुपर्ने उनले बताए । स्वर्गीय खिलाशर्मा घिमिरे जस्ता अग्रज नेताहरुको जीवनबाट सबैले शिक्षा लिनुपर्ने उनको विचार थियो । उनले पञ्चायती व्यवस्थाजस्तो कठिन एकदलिय व्यवस्थामा पनि चितवनमा कांग्रेसका नेताहरुले राजनीतिक गतिविधिलाई सक्रियता दिएको विचार राखे ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका महासमिति सदस्य राजेश्वर खनालले शिवनगरदेखि मेघौलीसम्म पुग्दा पञ्चायतकालमा पनि निकै आनन्द आएको अनुभव सुनाए । ती क्षेत्रले चितवन कांग्रेसको इतिहासमा बेग्लै पहिचान बनाएकोले अहिले पनि पश्चिम चितवनको ती क्षेत्रमा आउँदा बेग्लै आनन्द आउने विचार राखे । शोकसभामा कांग्रेसका पूर्वमहासमिति सदस्य गुणराज पाठक, भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष चित्रसेन अधिकारी, शुभकामना बचत तथा ऋण सहकारीका उपाध्यक्ष कृष्णप्रसाद सोडारी, शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमलनाथ घिमिरेलगायतले स्वर्गीय रेवता घिमिरेले आफ्ना पति खिला शर्मा घिमिरेको राजनीतिक जीवनमा सहयात्री भएर महत्वपूर्ण भूमिका खेलेको विचार राखे । नेपाली कांग्रेस वडा समिति र शुभकामना बचत तथा ऋण सहकारीले संयुक्तरुपमा सो शोकसभा गरेका थिए । स्वर्गीय रेवता घिमिरेको ७८ वर्षको उमेरमा साउन १९ गते निधन भएको थियो । उनका पति स्वर्गीय खिलाशर्मा घिमिरे नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सदस्य तथा चितवन कांग्रेसका अग्रज नेता थिए । स्वर्गीय घिमिरेको दुई छोरा र चार छोरी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>