नवलपुर
नवलपुरको देवचुलीमा कृषि उपज बिक्री केन्द्र निर्माण

कावासोती,साउन २१-
कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको छ । नवलपरासी पूर्वनवलपुरको देवचुली नगरपालिकामा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको हो ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको रु २४ लाख, देवप्रगति बहुउद्देश्यीय सहकारी संस्थाको रु चार लाख २७ हजार ७८४ र अन्य सहयोग गरी रु २९ लाख १४ हजार ५०३ को लागतमा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष हुकुमबहादुर सुवेदीले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकासहित जिल्लाका पहाडी क्षेत्रका कृषकलाई आफूले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुगोस् भनेर बिक्री केन्द्रको भवन निर्माण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
उपज केन्द्रमा कृषि चौतारीका रुपमा केही मापदण्डअनुसार कृषकलाई आफ्नो उपज बिक्रीका लागि सोहीअनुसार निःशुल्क उपलब्ध गराइने कृषि शाखा देवचुली नगरपालिकाका नरेन्द्र भण्डारीले बताउनुभयो । बाँकी रहेका स्थानका लागि निश्चत शुल्क लिएर कृषकलाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।
जिल्लाका पहाडी क्षेत्रको बजार आवतजावत गर्ने मुख्य मार्गमा पर्ने भएकाले सो क्षेत्रका कृषकलाई उपज बिक्री केन्द्र लाभदायी हुने अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तला लगायतका कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा किसानले सस्तोमा बिक्री गर्नु परिरहेकाले यसको स्थापनाले किसानले बजारमा भण्डारण गरी सोही स्थानबाट बिक्री गर्ने सक्ने हुँदा कृषकलाई लाभ पुग्ने छ ।
सहकारीले कृषि उपज बिक्री केन्द्रसहित शित भण्डार र बीउ बैंकसमेत स्थापना गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष सुवेदीले बताउनुभयो । रैथाने प्रजातिका बीउ हराउँदै जान थालेको भन्दै यसको संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रासस