नवलपुर
देवचुली नगरपालिकाको लोकप्रिय कार्यक्रमः १० प्रतिशत तलब आमाबाबुको खातामा अनिवार्य

नवलपुर,साउन १६ –
देवचुली नगरपालिकाले मासिक पारिश्रमिक बुझ्ने सबैले १० प्रतिशत रकम आमाबाबुको खातामा जम्मा गर्नुपर्ने नीति पारित गरेको छ । यो नीति साउन १ बाट लागू गरिएको छ ।
हालै सम्पन्न चौथो नगरपरिषद्ले नगरपालिकाबाट मासिक पारिश्रमिक बुझ्ने निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आमाबाबुको बैंक खातामा रकम जम्मा गरेर सक्कल भौचर नगरपालिकामा बुझाउनुपर्ने नियम बनाएको हो । नगरकार्यपालिकाले जनप्रतिनिधि र कर्मचारीसँग छलफलपछि नगरसभाबाट सर्वसम्मत पास गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले नगरपालिकाले मासिक पारिश्रमिक भुक्तानी दिने सबैलाई बाबुआमाप्रतिको सामाजिक जिम्मेवारीबोध गराउन यस्तो नीति बनाइएको बताए । कर्मचारीबाट स्वस्फूर्त माग आएकाले आपसी छलफलबाट त्यस्तो नीति बनाइएको उनको दाबी छ ।
बाबुआमाको खातामा तोकिएको रकम जम्मा गर्ने कर्मचारीको नाम र विवरण सूचना तथा पत्रपत्रिकामार्फत प्रकाशन गरिने र अन्य सबैलाई नैतिक कर्तव्यबोध गराउने नगरपालिकाको योजना छ ।
नगरपालिकामा मेयर, उपमेयरसहित ३० जनप्रतिनिधि, ११९ कर्मचारी र २४५ शिक्षक छन् । उनीहरू सबै जना अभियानमा सामेल हुनेछन्। यी सबको पारिश्रमिकमा वार्षिक १६ करोड १८ लाख खर्च हुनेछ। यसको १० प्रतिशत अर्थात वार्षिक १ करोड ६१ लाख ८ हजार रकम अभिभावकको खातामा जाने भएको छ ।
जन्मदिने बाबुआमाको पालनपोषणको जिम्मेवारी सन्तानकै भएकाले उक्त जिम्मेवारीबोध गराउन प्रयास गरिएको भुसालको दाबी छ । कर्मचारीबीच पटकपटक छलफलपछि नगरपरिषदबाटै यस्तो नीतिगत निर्णय गरिएको हो । नगरपालिकाले साउन १३ गते सबैलाई परिपत्र गरेर यो अभियान पछ्याउन आग्रह गरेको छ ।