नवलपुर

कावासोतीमा पर्यटन सूचना केन्द्र निर्माण हुँदै

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन १६–

नवलपुरको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गर्दैछ ।

नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क संकलन गर्न सहज होस् भन्ने उद्देश्यले पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको कावासोती नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनले जानकारी दिईन् ।

कावासोती नगरपालिका–१५, गोडारमा पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको हो । सूचना केन्द्र भवन निर्माणको काम अहिले चलिरहेको छ । कावासोती नगरपालिकाभित्र धेरै पर्यटकीय स्थल र सम्भावना बोकेका स्थान रहेका छन् ।

नारायणी नदीका तटिय क्षेत्र, अमलटारी घरबास (होम स्टे), मध्यवर्ती क्षेत्र पर्यटक आकर्षणको केन्द्र हो । मध्वर्तीमा वन्यजन्तु अवलोकन गर्न सकिन्छ । यस्तै यहाँ रहेको पोखरी ताल, नारायणी गंगेश्वर धाम, माहाराज थान मन्दिर, राज मन्दिर, पर्यटकीय सम्भावना बोकेको बालुवाडाँडालगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरु रहेका छन् । तर यी पर्यटकीय क्षेत्रमा अमलटारी हो स्टे बाहेक अन्यको उचित प्रचारप्रसार हुन सकेको छैन । सूचना केन्द्र स्थापनापछि नगरका सबै पर्यटकीय स्थलको प्रसारप्रसारसंगै आवश्यक सबै जानकारी पर्यटकले प्राप्त गर्न सक्नेछन् ।

यहाँ रहेका पर्यटकीय स्थलको उचित जानकारी नहुँदा पर्यटकहरु यी क्षेत्रमा नपुग्ने भएकाले सबै पर्यटकीय क्षेत्रको जानकारी दिन र पर्यटकलाई सबै पर्यटकीय क्षेत्रसम्म पु¥याउन पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको नगर प्रमुख पुनले बताईन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । तर नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमा पर्यटक पुग्दैनन् । सूचना केन्द्र मार्फत् पर्यटकहरुले सहज रुपमा जानकारी हासिल गर्दा ओझेलमा परेका पर्यटकीय क्षेत्रमा समेत चहलपहल बढ्ने र यसले समग्र नगरको पर्यटकीय विकासमा टेवा पु¥याउने विशवास लिएको उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई धेरै समयसम्म राख्न सक्ने हुँदा यहाँको आर्थिक कारोबारमा समेत वृद्धि हुने उनको भनाई छ ।

सूचना केन्द्रमार्फत यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राखिने भएकाले पर्यटकको आगमन कस्तो रहेको छ ? कुन–कुन स्थानबाट पर्यटक आउने गरेका छन् ? लगायत सबै जानकारी हासिल गर्न सकिने हुँदा आगामी दिनमा पर्यटनको सवालमा नीति निर्माण तथा योजना बनाउन सहयोग पुग्ने कावासोती नगरपालिका–१५, का वडाध्यक्ष देवनारायण महतो बताउँछन् ।

सूचना केन्द्रमा पर्यटकीय क्षेत्रको जानकारीसहित यस क्षेत्रमा आउने पर्यटकलागि आवास सुविधा कहाँ कस्तोे छ ? त्यसको बारेमा समेत जानकारी प्रदान गरिने हुँदा पर्यटकलाई बस्ने, घुम्ने आदि विषयमा अलमल नहुने र सहजता मिल्ने वडा अध्यक्ष महतोले बताए ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा सूचना केन्द्र निर्माणका लागि रु. ८ लाख ५० हजार विनियोजन गरेको थियो । यसबाट अहिले भवन निर्माणको काम चल्दै छ । चालु आर्थिक वर्षमा समेत पर्यटन सूचना केन्द्रका लागि रु.५ लाख विनियोजन गरिएको वडाध्यक्ष महतोले जानकारी दिए । भवन निर्माणको कार्य चाडै पुरा गरी कर्मचारी व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रको सूचना प्रदान तथा सूचना संङ्कलनको काम गरिने महतोले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>