चितवन विशेष
चितवनमा मनाईयो वीपी स्मृति दिवस

चितवन, साउन ६–
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी)को योगदानको स्मरण गर्दै आज (सोमबार) चितवनमा विभिन्न कार्यक्रम गरी ३७ औँ स्मृति दिवस मनाइएको छ ।
नेपाली काँग्रेस चितवनले सोमबार वीपी शान्ति नगरवन नारायणगढमा वृक्षरोपण गर्दै वीपी स्मृति दिवस मनाएको हो । काँग्रेस सभापति जितनारायण श्रेष्ठले नगरवनमा पाँच सय बढी विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।
वीपीको पूर्णकदको शालिक रहेको सो नगरवन संरक्षणमा जोड दिनका लागि कार्यक्रमको आयोजना गरिएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । बिहान भएको वृक्षरोपण कार्यक्रममा पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशीलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सोमबार नै नेपाली काँग्रेस साविक क्षेत्र नम्बर ४ को आयोजनामा फूलबारीमा वीपीबारे प्रवचन कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ्ग प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसदहरु मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, पूर्व सभापति तोपमानसिंह गुरुङ, पूर्व सांसद विष्णुमाया परियार, जिल्ला सचिव उत्तम जोशी, काँग्रेसका युवा नेता दिनेश कोईरालालगायतले वीपीको योगदान बारेमा प्रकाश पारेका थिए ।
यसैगरि सोमबारनै गुञ्जनगरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । साविक चित्रवन नगरपालिकाका सभापति शालिकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रवक्ता निता ढकाल, भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक लामालगायतको सहभागिता रहेको थियो ।
काँग्रेस चितवनले वीपी स्मृति दिवसको अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरेको थियो । स्मृति दिवसलाई भव्य बनाउन इकाइ तथा सबै भातृ संगठनहरुलाई निर्देशन दिएको थियो ।
यसैबीच सोमबार साँझ नै नेपाली काँग्रेस भरतपुर नगर समितिले दीप प्रज्वलन गर्दै स्मृति दिवस मनाएको छ । भरतपुरस्थित चौविसकोठी चोकमा नगरसमितिले दीपप्रज्वलन गरेको हो । कार्यक्रम नगर सभापति भरत अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सभापति जितनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, विद्यार्थी नेताहरुलगायतको सहभागिता रहेको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।