राजनीति
नेकपाले तोक्यो ७७ वटै जिल्लाका इन्चार्ज र सह-इन्चार्ज (को को कहाँ परे, पूरा विवरणसहित)

काठमाडौं, असार ५ –
नेपाल क्म्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्वसहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । आजको बैठकले विभागको नेतृत्व टुंगाउने भने पनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेपछि मंगलबार पुनः छलफलमा बसेर टुंगोमा पुगिने जनाइएको छ ।
महत्वपूर्ण विभाग शीर्ष नेतालाई दिने समझदारी नेकपाभित्र बनिसकेको छ। संगठन विभागको प्रमुखमा वामदेव गौतम, विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले पाउने लगभग पक्कापक्की भइसकेको नेताहरुले बताएका छन्। तर, आर्थिक विभाग, स्कुल र प्रचार विभागको भने टुंगिन बाँकी छ।
स्कुल विभागमा तत्कालीन एमालेका ईश्वर पोखरेल र माओवादी केन्द्रतर्फका नारायणकाजी श्रेष्ठको दाबी रहेको स्रोत बताउँछन्। आर्थिक विभागमा महासचिव विष्णु पौडेल आकांक्षी देखिएका छन् भने प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ। प्रचारमा नेतृ पम्फा भूसाल अघि सर्ने देखिएकी छन्। नेकपाको ३२ विभाग रहनेछन्। पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।





























