राजनीति
नेपाली ब्रोले गरे श्रीमतीको हत्या

काठमाडौँ, जेठ २३-
‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्कुटीमा सवार ईश्वरीको टाउकोमा रड प्रहार गरी हत्या भएको हो । यो घटना हिजो राति १०ः१० बजे भएको हो ।
शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा घटना भएको हो । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा ईश्वरी निधन भएको हो ।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन् । ईश्वरी सैनिक सेवामा थिइन् । उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो । शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए । एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्नासाथ रडले हानेर घाइते बनाएका थिए ।
उनलाई प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पतालमा लगेका थिए । अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको हो । त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । कुमारलाई शुक्रबार राति बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । कुमार र ईश्वरी ४२ वर्षका थिए ।
























