Breaking News
मोबाइलबाटै भारत-नेपाल व्यक्तिगत खातामा पैसा पठाउन सकिने सेवा सञ्चालनमा

काठमाडौँ,जेठ २४-
अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ अथवा कनेक्ट आईपीएसको मोबाइल एप मार्फत अन्तरदेशीय रकम पठाउन सक्छन् ।
यसका लागि क्रशबोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ । रकम ट्रान्सफर गर्दा बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । भारत तर्फ समेत हाल मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै यो सुविधा लाइभ भएको बुझिएको छ । एनसीएचएलका अनुसार अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा क्रमशः यो सेवा विस्तार गरिनेछ । विगत एक सातादेखि नै यो सेवा आन्तरिक रूपमा परीक्षणमा रहेको एनसीएचएलले जनाएको छ । रकम ट्रान्सफरका लागि दैनिक तथा मासिक कारोबार सीमा तथा शुल्क तोकिएको छ ।
यद्यपि यस विषयमा अबको केही दिनभित्र एनसीएचएलले औपचारिक रूपमै घोषणा गर्ने तयारी समेत गरिरहेको छ । नबिल बैङ्कले भने आफ्नो मोबाइल बैङ्किङ एप एन बैङ्कमार्फत नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु भएको घोषणा नै गरेको छ ।
जसअनुसार नबिल बैङ्कमा खाता रहेका भारतीय नागरिकहरूले भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्कालै मोबाइल एपबाट रकम पठाउन सक्नेछन् । त्यसैगरी भारतबाट नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका आफ्ना परिवार तथा साथिभाइको नबिल बैङ्कमा रहेको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन् ।
बैङ्कले नेपालबाट भारत रकम पठाउनका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकेको छ । भारतबाट नेपालका लागि प्रति दिन दुई लाख भारुको सीमा लगाइएको छ भने मासिक सीमा भने तोकिएको छैन अर्थात् असीमित राखिएको छ ।
























