चितवन विशेष
प्रदेशको तीन महिने ट्राफिक अभियान सुरु

चितवन, साउन १-
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश नम्बर ३ मा बुधबारदेखि तीन महिने अभियान सुुरु गरिएको छ ।
‘हाम्रो अभियान, सुरक्षित र सहज ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ ३ नम्बर प्रदेश प्रहरी कार्यालय रामनगरले अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दे प्रदेश नम्बर ३ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले जनचेतनाको अभाव र भौतिक संरचनाको कारण सवारी दुर्घटना बढ्दै गएको बताए । उनले प्रत्येक वर्ष सवारी दुर्घटनाका कारण दुई हजार ५०० जनाले ज्यान गुमाउनु परेको भन्दै त्यसतर्फ आम नगरिक सचेत हुनपर्ने अवस्था आएको बताए ।
तीन महिनासम्म सञ्चालन हुने कार्यक्रममा एक हजार ४१ वटा कार्यक्रम समावेश गरिएको ३ नम्बर प्रदेश ट्राफिक प्रमुख नविनराज राईले जानकारी दिए । त्यस कार्यक्रममाअन्तर्गत प्रत्येक जिल्लाले हरेक महिना कम्तिमा १० पटक मापसे जाँच गर्नुपर्ने, सवारी गति नियन्त्रण सम्बन्धी काम गर्ने, स्कुल तथा कलेजका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा सञ्चालन गर्ने, टोलटोलमा ट्राफिक सचेतनामूलक लगायतका कार्यक्रम गर्ने प्रदेश प्रहरीले योजना बनाएको छ । कार्यक्रममा यातायात व्यवसायी रामप्रसाद सुवेदीले भौतिक संरचनाका कारणसवारी दुर्घटनाहरु बढेको बताए ।