क्रिकेट
विश्वकप क्रिकेटः भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश

काठमाडौं, असार २५–
इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा न्यूजील्याण्डले भारतलाई १८ रनले पराजित गर्यो । न्यूजील्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत २२१ रनमै अलआउट हुन पुग्यो । ३.१ ओभरमा ५ रनको अवस्थामा महत्वपूर्ण तीन व्याट्सम्यान आउट भएपछि भारत दवाबमा परेको थियो । ओपनरद्धय केएल राहुल र रोहित शर्मासंगै कप्तान विराट कोहली पनि एक रनमै आउट भएपछि भारत पूर्ण दवाबमा आएको थियो ।
एकै विश्वकपमा पाँच सतक प्रहार गरेका रोहित शर्मा चार बल मात्रै खेल्न पाए भने राहुलले ७ र कोहलीले ६ बल मात्रै खेल्न पाए । दिनेश कार्तिक २५ बल खेलेर ६ रन मात्रै बनाए । २४ रनमा ४ विकेट गुमाएको भारतको पारीलाई युवा व्याट्सम्यान ऋषभ पन्त र हार्दिक पाण्डेले उकास्न प्रयास गरेका थिए । तर टिमको स्कोर ७१ रन हुँदा पन्त ३२ रन बनाएर आउँट भए । त्यसपछि भारत झनै दवाबमा परेको थियो । टिमको स्कोर ९२ रन हुँदा पाण्डे पनि ३२ रनमै आउट भएपछि भारत हार नजिक पुगेको थियो ।

तर भरपर्दा व्याट्सम्यान महेन्द्र सिंह धोनी र युवा अलराउण्डर रविन्द्र जडेजाले अविश्वसनिय शतकिय साझेदारी गर्दै भारतको आशा जगाएका थिए । यी दुई मिलेर ११६ रनको साझेदारी बनाए । जडेजा ५९ बलमा ७७ रनको आक्रमक पारी खले । उनी ट्रेन्ट बोल्टको बलमा विलियम्सनको हातबाट क्याच आउट । जडेजा आउट भएपछि न्यूजील्याण्ड पुनः खेलमा फर्किएको थियो । धोनी पनि दोहोरो रन रिने दाउँमा ५० रनमा रनआउट भएपछि न्यूजील्याण्डको जीत पक्का भएको थियो । त्यसपछि आएका व्याट्सम्यान भुवनेश्वर कुमार खाता नखोल्दै आउट भए भने युजवेन्द्र चहल ५ रन बनाएर आउट भए । बुम्रराह ४ बलमा खाता नखोल्दै नटआउट रहे । जितका लागि १३ बलमा ३२ रन आवश्यक रहेको बेला भारतले लगातार चार विकेट गुमाएको गुमाएपछि न्यूजील्याण्ड दोस्रो पटक फाईनल यात्रा तय गरेको हो ।
न्यूजील्याण्डको जितमा हेनरीले ३, ट्रेण्ट बोल्ट र सनटेनरले २ विकेट लिए भने फर्गुसन र निशमले एक/एक विकेट लिए ।
यसअघि दुई दिन व्याटिङ गरेको न्यूजील्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । उसका लािग रोज टेलरले ७४, कप्तान केन विलियम्सनले ६७ रनको योगदान दिए । मंगलबार भएको खेलमा न्यूजील्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो । आज दोस्रो दिनको खेलमा न्यूजील्याण्डले थप ३ विकेट गुमाएर २८ रन जोड्दै २३९ रनको सम्मान स्कोर खडा गरेको थियो । भारतका लागि भुवनेश्वर कुमारले तीन विकेट लिए ।
























