चितवन विशेष
सेन्ट्रल मोडल कलेजमा पाँचदिने डेटा व्यवस्थापन तथा विश्लेषण तालिम

भरतपुर,जेठ २८-
विश्वविद्यालय अनुदान आयोग (युसिजी) नेपालको सहयोगमा सेन्ट्रल मोडल कलेज अनुसन्धान व्यवस्थापन कक्ष (आरएमसी) द्वारा आयोजित पाँचदिने डेटा व्यवस्थापन तथा विश्लेषण तालिम शुभारम्भ गरिएको छ। अनुसन्धान संस्कृति विकास, तथ्याङ्कीय विश्लेषण क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम विभिन्न कलेजका शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक अन्य सरोकारवालाको उल्लेखनीय उपस्थितिमा रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा कलेजका उपप्राचार्य इन्जिनियर विपिन शर्माले सम्पूर्ण अतिथि, स्रोत व्यक्ति, प्राध्यापक, कर्मचारी तथा सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो। उहाँले अनुसन्धान तथा तथ्याङ्कीय विश्लेषणसम्बन्धी ज्ञान र सीप विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी हुने बताउँदै सहभागीहरूलाई तालिमबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा कलेजका प्राचार्य डा. टी.आर. चालिसेले चितवन जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरूबीच अनुसन्धानका क्षेत्रमा सहकार्य, समन्वय र साझेदारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनको महत्वमाथि जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थी तथा प्राध्यापकहरूको अनुसन्धान क्षमतामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले सेन्ट्रल मोडल कलेजले निकट भविष्यमै “सेन्ट्रल जर्नल रिसर्च” प्रकाशन गर्ने तथा आगामी चैत महिनाभित्र एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माणमा कलेज प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
स्रोत व्यक्तिका रूपमा उपस्थित पूर्व विज्ञान संकाय डिन प्रा.डा.रामप्रसाद खातीवडाले अनुसन्धानलाई गुणस्तरीय बनाउन तथ्याङ्कीय विश्लेषणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। प्रा.डा.विजयलाल प्रधानले आधुनिक अनुसन्धानमा डेटा व्यवस्थापन तथा विश्लेषण सम्बन्धी सीप अपरिहार्य भइसकेको र यस्ता तालिमले अनुसन्धानको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। प्रा.डा.विनोद दवाडीले अनुसन्धानमा वैज्ञानिकता, विश्वसनीयता तथा तथ्यपरक निष्कर्षका लागि उचित डेटा व्यवस्थापन र विश्लेषण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
समारोहमा उपस्थित विशिष्ट अतिथिहरूले सेन्ट्रल मोडल कलेज नयाँ संस्था भएपनि कलेज व्यवस्थापनको दूरदर्शी सोच, अध्यक्षको नेतृत्व, प्राचार्यको सक्रिय कार्यशैली, गुणस्तरीय शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा, अनुसन्धान तथा अतिरिक्त क्रियाकलापहरूको प्रभावकारी सञ्चालनका कारण छोटो समयमै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, स्रोत व्यक्ति, शिक्षक, कर्मचारी तथा सहभागीहरूप्रति सेन्ट्रल मोडल कलेजले हार्दिक आभार व्यक्त गरेको छ। आगामी पाँच दिनसम्म सञ्चालन हुने यस तालिम कार्यक्रमले सहभागीहरूको डेटा व्यवस्थापन, तथ्याङ्कीय विश्लेषण तथा अनुसन्धानसम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्दै अनुसन्धानको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको कलेजले जनाएको छ ।

























