राजनीति

रास्वपाले काठमाडौं सार्‍यो वाग्मती प्रदेश अधिवेशन, जेठ ३० मा मतदान

Banner

हेटौँडा, जेठ २८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाग्मती प्रदेश अधिवेशनअन्तर्गत स्थगित भएको निर्वाचन प्रक्रिया यही जेठ ३० गते हुने भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै स्थगित निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न लागिएको जनाएको हो ।

आयोगका अनुसार, जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको अधिवेशनअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू, मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सबै प्रतिनिधिलाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यसहित निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न लागिएको जनाएको छ । आयोगले निर्वाचनलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन सम्पूर्ण तयारी पूरा भएको दाबी गरेको छ ।

रास्वपाले वाग्मती प्रदेशको अधिवेशन काठमाडौं सारेको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित सूचनाअनुसार मतदान जेठ ३० गते बिहान ११ देखि बेलुका ५ बजेसम्म काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा हुनेछ । मतदान पूर्ण रूपमा विद्युतीय मतदान मेसिन ९ईभीएम० मार्फत सञ्चालन गरिनेछ ।

मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्र वा फोटोसहितको परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोगले जनाएको छ । साथै, मतदानस्थलमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा शान्तिपूर्ण वातावरण कायम राख्न उमेदवार र प्रतिनिधिहरूसँग आयोगले आग्रह गरेको छ ।

यसअघि मतदाता नामावलीसम्बन्धी विवादका कारण वाग्मती प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>