कृषि
राप्तीका किसानलाई बोका वितरण

चितवन, असार २५-
राप्ती नगरपालिकाले बुधबार बोयर जातको बोका वितरण गरेको छ ।
राप्ती नगरपालिका पशु सेवा शाखाले बुधबार नगरका विभिन्न वडामा रहेका सहकारी तथा समूहलाई ५ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो । राप्ती नगरपालिका–१ स्थित एकता कृषि तथा बाख्रापालन समूह, राप्ती ६ स्थित मुडाभार चौधरी बाख्रापालन समूह, राप्ती १० र ११ स्थित कमिनचुली महिला बचत तथा ऋण सहकारी, राप्ती ११ कै थाकलटार बाख्रापालन समूहलाई एक एक वटा बोका वितरण गरिएको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।
राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती १ का वडाध्यक्ष सिद्धलाल स्याङतान, राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको उपस्थितिमा सहकारी तथा समूहका प्रतिनिधिलाई बोका वितरण गरिएको थियो । एउटा बोकालाई २० हजारमा खरिद गरिएको जनाइएको छ । बोका वितरण गर्दै उपप्रमुख लामाले नगरपालिकाले प्रदान गरेको बोकाको सही सदुपयोग गर्दै व्यवसायिकरुपमा वाख्रापालनलाई विस्तार गर्न किसानलाई आग्रह गरे । पशु सेवा शाखा प्रमुख भण्डारीका अनुसार बोयर जातबाट उत्पादन भएका खसी, बोका दैनिक २०० ग्राम बढ्छ । राप्तीमा व्यवसायिक फर्मको एकिन तथ्यांक नभए पनि करिब ३५ हजारको संख्या बाख्रा खसी रहेको अनुमान छ ।