चितवन विशेष
चितवनमा नेविसंघले बुझायो प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी

चितवन, असार २४–
नेपाली विद्यार्थी संघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर इकाइले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी उपहार पठाएको छ ।
आज (मंगलबार) प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत नेविसंघले प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी उपहारस्वरुप पठाएको हो । सरकारले भारतको दवाबमा विषादीयुक्त तरकारी भित्र्याउन दिएको भन्दै बिरोध स्वरुप नेविसंघले विषादीयुक्त तरकारी पठाएको हो । नेविसंघले भारतीय दुतावासको विज्ञप्तीपछि सरकार निर्णयबाट पछि हटेकोमा भत्र्सना समेत गरेको छ ।
साथै नेपाल विद्यार्थी संघका इकाइ अध्यक्ष संयम पण्डितले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विषादी परीक्षण नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘नेपाली जनता र नेपाली किसानको हकहितका लागि नेपाल सरकारद्धारा भारतीय तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने निर्णय तत्काल यथाशिघ्र फिर्ता लिएर परीक्षण सुचारु गर्न गर्न सुचित गराउँद छौं ।’
सरकारले विषादी परीक्षण नगर्ने निर्णय तत्काल फिर्ता नलिए नेपाली जनता र कृषि विद्यार्थीहरु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको नेविसंघले चेतावनी दिएको छ ।
विद्यार्थीहरुले केहीबेर विषादीयुक्त तरकारी लिएर प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्यहरू कल्पना पौडेल, निरज अग्रवाल, सरोज रेग्मी, विद्यार्थी नेता प्रमेश्वर खनाल, ईश्वर श्रेष्ठ, बसन्त गैरेलगायत नेविसंघका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।