कालिका
कालिका नगरपालिकामा साउनदेखि अनलाइनबाट राजस्व संकलन

कालिका, असार २१-
कालिका नगरपालिकाले आगामी साउन १ गतेदेखि अनलाइन मार्फत् राजस्व संकलन सुरु गर्ने भएको छ ।
नगरपालिकाको काम सूचना प्रविधिसँग जोड्दै सो नगरपालिकाले वडा कार्यालय तथा नगरपालिकाको कार्यालयबाट अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गर्न लागेको मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । वडाबाट अनलाइन मार्फत् राजस्व संकलनको काम सुरु भएपछि टाढाबाट राजस्व बुझाउन नगरपालिकाको कार्यालयमा आउनु पर्ने बाध्यताको अन्त्य हुने मेयर श्रेष्ठले बताए । अनलाइन मार्फत् राजस्व संकलनको लागि नगरपालिकाले सम्पती तथा भूमिकर आयसम्बन्धी तालिम शनिबारदेखि सुरु गरेको छ ।
नगरपालिकाका कर्मचारीहरुको लागि तीन दिने तालिम सुरु भएको लेखा अधिकृत ऋषि कडुवालले जानकारी दिए । तालिमको उपमेयर कमला भट्टराईले उद्घाटन गरेकी हुन् । तालिममा वडा सचिव र नगरपालिकाको राजस्व शाखाका काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको छ ।