वागमती

आत्मसमीक्षा लागि पत्रकारिताका अध्यापक तथा सम्पादकको जोड

Banner

काठमाडौँ, असार १५-

विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक तथा पत्रकारिताका अध्यापकले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउन नियमितरुपमा आफ्ना प्रकाशित सामग्रीको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आज आयोजना गरेको ‘नेपाली पत्रकारितामा व्यावसायिक अभ्यास’ विषयक छलफल कार्यक्रममा पत्रकारिता क्षेत्रले आफ्ना कमजोरी पहिल्याउने, सच्याउने, सत्यतथ्य खुलासा गर्ने र धर्म नछाड्ने हो भने पाठकप्रतिको इमान्दारिता हुनेमा जोड दिइएको हो । उक्त विभागका प्रमुख चिरञ्जीवी खनालले पत्रकारिता शिक्षा, यसको अध्यास र पाठकको प्रतिक्रियामा आधारित भएर निरन्तर छलफलको शृङ्खला चल्नुपर्ने बताउँदै पत्रकारिताका अभ्यासकर्ता पनि आत्मसमीक्षाका लागि तत्पर भइरहनु सकारात्मक हुने जनाए ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले गल्ती गरिरहने तर नसच्चिनेका लागि यस्ता छलफल महत्वपूर्ण अवसर हुने जनाउँदै पत्रकारिता क्षेत्र धमिलो हुनामा यस क्षेत्रका गुरु वा प्रशिक्षक पनि जिम्मेवार रहेको जिकिर गरे । उनले भने, ‘अहिले पत्रकारको सङ्ख्या बढ्दो तर पत्रकारिताको गुणस्तर घट्दो छ । मूलधारका कतिपय सञ्चारमाध्यमले समाजका सरल कथालाई जटिल बनाउँदै लगेका छन् । पत्रकारले व्यापारलाई सबैभन्दा ठूलो शक्ति ठानेर मालिकको कामदारका रुपमा काम गरिरहेका छन् ।’
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकारिता विभिन्न व्यवसाय र राजनीतिक दलमा प्रयोग हुने कार्ड हुन थालेको जनाउँदै सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिकका विषयमा ठूला दैनिकले नै असन्तुष्टि जनाउनु आश्चर्यजनक भएको बताए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपाली पत्रकारिता विगतको राजनीतिक मिसनबाट बाहिर आउन खोजे पनि व्यापारिक मिसनबाट मुक्त हुन नसकेको जनाउँदै लोकतन्त्रमा सरकारले प्रेसमाथि नियन्त्रण गर्न नसक्ने बताए ।
पत्रकारिताका गुरु लालदेउसा राईले पत्रकारले आफ्नो आचारसंहिता कहिले नाँघ्न नहुनेमा जोड दिए। पत्रकारिताका अध्यापक पी खरेलले सञ्चारमाध्यममा आफ्ना सामग्रीको नियमित समीक्षा हुनुपर्ने र सञ्चार सामग्रीबारे अनुसन्धानमूलक जर्नल प्रकाशन हुनुपर्ने सुझाव दिए । उनले कुनै पनि पक्ष वा शक्तिको प्रभावका आधारमा लेखिएका समाचार प्रयोग नहोस् भन्नेतर्फ सम्पादक सचेत हुनुपर्नेमा जोड दिए ।

अर्का प्राध्यापक प्रबलराज पोखरेलले सञ्चारमाध्यमले सार्वजनिक जनचासोका विषयलाई न्याय गरिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा हुनुपर्ने बताए । कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले भने, “पत्रकार कुनै पनि पार्टी निकट हुनु दण्डनीय होइन, यहाँ जति कतै छैन भनेर अपारदर्शीरुपमा सञ्चारको दुरुपयोग भइरहेको छ । हाम्रा कमीकमजोरी औँल्याइदिएमा हामी खुसी हुनुपर्छ ।”

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले लगानी वा स्वामित्व जस्तोसुकै भए पनि पत्रकारिताको आधारभूत पक्ष उही हुने भएकाले त्यसको अभ्यास गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने र आफूमाथि उठेका प्रश्नमा इमान्दार भई सामना गर्न सक्नुपर्ने जनाउँदै सत्यतथ्यलाई इमान्दारिताका साथ पस्कनुपर्ने बताए ।
रेडियोकर्मी रघु मैनालीले पत्रकारिताले संविधानमा विशेष अधिकार माग्ने अनि व्यवहारमा भोजनअनुसारको भजन गाउने हो भने जनताका लागि के फाइदा भयो भन्ने प्रश्नका आधारमा समीक्षा गर्न आग्रह गरे ।

छलफलमा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक कपिल काफ्ले, राजधानी दैनिकका सागर पण्डित, पत्रकार विनोद भट्टराई, जगदीश पोखरेल, प्रतीक प्रधान, अखिलेश उपाध्याय, टीकाराम यात्री, राजु सिलवाल, विश्वविद्यालयका मानवशास्त्र, कानून, लैङ्गिक र भूगोललगायत विभिन्न केन्द्रीय विभागका प्रमुख सहभागी थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>