नवलपुर

नवलपुरको हुप्सेकोटमा मोबाइल एप्सबाट करोडौँको खसीबोका बिक्री

Banner

ज्ञानु पंगेनी,

नवलपुर असार १५-

नवलपुरको हुप्सेकोटका महिला संगठित भएर सञ्चालन गरेको सहकारीले स्थानीय किसान लाभान्वित भएका छन् । हुप्सेकोट गाउँपालिका–४ झ्याबासमा २०७१ सालमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना गरेर सहकारी मार्फत् नै बजारीकरण गर्न थालेपछि अहिले यहाँका किसानहरुले बिचौलियालाई कृषि उपज बिक्री गर्न छाडेका छन् ।

स्थापनादेखि नै सहकारीले विशेष गरेर बाख्राको बजारीकरणमा काम गर्दै आएको छ । गाउँपालिकामा रहेका विभिन्न महिला समूहलाई एकत्रित गर्दै कृषि र पशुजन्य उपजको बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको यस सहकारीले बजारीकरणमा सहयोग पु¥याएर किसानको आयआर्जनमा समेत वृद्धि भएको छ ।

यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै बाख्रापालन हो । वर्षौबाट बाख्रापालन गर्दै आएका हुप्सेकोटका किसानले बाख्राको उचित बजार व्यवस्थापन हुन नसक्दा मनग्य फाइदा लिन भने सकेका थिएनन् ।

हचुवाको भरमा व्यापारी र बिचौलियाले मूल्य तोके अनुसार किसानले बाख्रा विक्री गर्दै आईरहेका थिए । बाख्रा जिउँदै जोखेर बिक्री गर्दा फाइदा हुने विषयमा सहकारीले गाउँगाउँमा सचेतीकरणका कार्यक्रम सञ्चालन ग¥यो । किसानलाई सहकारीबाटै बाख्रा बिक्री गर्ने वातावरण बनाउन सफल भएपछि अहिले यहाँका किसानले घरबाट बाख्रा बिक्री गर्न छाडेका छन् ।

सहकारीकी सदस्य तथा कृषक जसमाया गाहा भन्छिन्,–‘पहिले जोखेर खशी, बाख्रा विक्री हुन्थेन, अहिले सहकारीबाट जिउँदै जोखेर बाख्रा बिक्री भइरहेको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ पहिले व्यापारीले धेरै किसानले यस्तो समस्या बताएपछि सहकारी आफैले किसानका बाख्रा जिउँदै जोखेर किन्न थालेको हो । सहकारीबाट बाख्रा बिक्री गर्दा बाख्राको उचित मूल्य पाइन्छ भन्ने थाहा भए पश्चात किसानहरु सहकारीमा आउन थाले । अहिले लेकबेसी सहकारीले हरेक हप्ताको शुक्रबार बाख्राको खरिद बिक्री गर्दै आएको छ ।

सहकारीले व्यापारी, किसान र सरोकारवालासँग छलफल गरी जिउँदो खसीको मूल्य निर्धारण गरेको छ । २० किलो भन्दा कम तौल भएको खसीको मूल्य ३२५ रुपैयाँ, २० देखि २५ सम्मको खसीको मूल्य ३४०, २५ देखि ३० किलोसम्मको खसीको मूल्य ३६०, ३० देखि ३५ किलोसम्मको खसीको मूल्य ३७५, ३५ देखि ४० किलोको खसीको मूल्य ३९० र ४० केजी भन्दा बढी तौल भएको खसीको मूल्य ४१५ रुपैयाँ प्रति किलो निर्धारण गरिएको सहकारीका व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् ।

यस वर्ष सहकारीले दुई हजार ९२६ वटा खसी बोका बिक्री गरेर दुई करोड ६४ लाख ५८ हजार बराबरको कारोबार गरेको छ । जसबाट सात लाख १७ हजार रुपैयाँ नाफा भएको ब्यवस्थापक परियारले जानकारी दिइन् । यस वर्ष सहकारीले तीन हजार खसी बेच्ने लक्ष्य राखेको छ ।

‘सहकारीको कार्यक्षेत्र भौगोलिक रुपमा विकट छ । टाढाको समूहमा पुग्न पाँच घण्टासम्म हिड्नु पर्छ । अहिले मोबाइल एप्स (भीसीसीएप्स) को प्रयोग गरेका छौं । यसले खरिद विक्रीमा सहयोग पुगेको छ ।’ व्यवस्थापक परियारले भनिन् ।

मोबाइल एप्स आएपछि अहिले सहकारी, किसान र व्यापारी सबैलाई सहज भएको छ । ‘पहिले मूल्य सोध्न पनि घण्टौं हिड्नु पर्दथ्यो, अहिले एप्सले गर्दा सबै जानकारी पाएपछि धेरै सहज भएको छ’–अर्की किसान तथा सहकारीकी सदस्य किरण महतोले भनिन् । उनले सबै मूल्य पहिले नै जानकारी हुने भएपछि ठगिनबाट समेत जोगिएको बताइन् ।

सहकारीमा खसी ल्याउन टाढा हुने समूहमा सहकारीका कर्मचारीहरु आफै पुग्ने गरेका छन् । सबैलाई पायक पर्ने स्थानमा खसीबोका जम्मा गर्ने र जिउँदै जोखी खरिद गर्ने गर्दै आएका छन् । यसरी खरिद भएका खसीबोका सहकारीमा रेकर्ड गरी संकलन केन्द्रमा जम्मा गर्ने गरेको व्यवस्थापक परियारको भनाइ छ ।

सहकारीकी अध्यक्ष मनरुपा पाण्डेका अनुसार हिकोडेफ र हेफर इन्टरनेशनलको सहयोगमा सञ्चालित साना किसान सबलीकरण परियोजनाले समेत यस कार्यमा धेरै सहयोग गर्दै आएको छ । बाख्राको माउ उपहार, खोर, गोठ व्यवस्थापनमा सहयोग, औषधि उपचार, घाँस, दानामा सहयोग, बिमा, बजारीकरण जस्ता कार्यमा सहयोग गरे पश्चात बाख्रापालन व्यावसायमा किसानहरु उत्साहित भएको पाण्डेले बताइन् ।

‘सहकारीले सबै सदस्यहरुको खसी बोकालाई व्यवस्थितरुपमा बजारसम्म पु¥याउन सहयोग गर्दै आएको छ । किसान र व्यापारीको उपस्थितिमा मूल्य निर्धारण गरिन्छ, जसले गर्दा किसानहरु बिचौलियाबाट ठगिन परेको छैन’– पाण्डेले भनिन् ।

सहकारीको कार्यक्षेत्रमा समूहको अगुवाइमा करिब सात सय बिघा क्षेत्रफलमा घाँस रोपिएको अध्यक्ष पाण्डेले बताइन् । गाउँपालिकासँग समन्वय गरी व्यवस्थित बाख्रापालन सम्बन्धी तालिम, खोर गोठ सुधार, पशु स्वास्थ्य शिविर, जुकामाटेको औषधि वितरण जस्ता कामसमेत गर्दै आएको पाण्डेले जानकारी दिइन् ।

सहकारीले बाख्रापालक किसानका लागि सस्तो दरमा ऋण लगानी गर्दै आएको पाण्डेले बताइन् । बाख्रापालक किसानका लागि सहयोग र बिक्रीका लागि सहज भएपछि अहिले किसानहरु बाख्रापालनका लागि धेरै उत्साहित र लाभान्वित भएको अध्यक्ष पाण्डेको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>