नवलपरासी
नवलपरासीको शहीद पार्कलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै

परासी, असार १४–
पश्चिम नवलपरासीको सुनवल–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्य बनाइने भएको छ ।
पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो पार्कलाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएका हुन् । यस पार्कमा नेपालका सबै शहीदको शालिक बनाउने योजना अघि सारिएको छ ।
राजमार्गदेखि उत्तरतर्फको १० हेक्टर १५ विघा क्षेत्रफलमा फैलिएको शहीद पार्क क्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाउने गरी प्रदेश नं ५ सरकारले रु ५० लाख र सुनवल नगरपालिकाले रु ४० लाख गरी आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ९० लाख बजेट विनियोजन गरेका छन् ।
विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा विसं २०६२ चैत्र ३० गते सदरमुकाम परासीमा सुरक्षा कर्मीको गोलीबाट शहादत प्राप्त गरी तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद घोषित पाण्डेको स्मृतिमा वनकट्टीमा शहीद पार्क स्थापना गरिएको हो । शहीद विष्णुप्रसाद पाण्डे प्रतिष्ठानले यस पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग पहल गरेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठले बताए ।
यस पार्कमा अहिले पनि वनभोज खाने र घुमफिर गर्न आउनेको सङ्ख्या बढ्दो छ । हरियाली र हराभरा क्षेत्र भएकाले त्यहाँ आन्तरिक पर्यटक लोभिने गरेका छन् । पार्क ठूलो क्षेत्रफलमा रहेकाले नेपालका सबै शहीदको एकैठाउँमा मूर्तिसहित अन्य सुविधा सम्पन्न संरचनाहरु एकैथलोमा निर्माण गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट पार्क निर्माणका लागि रु २० लाख र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट अन्य संरचना निर्माणका लागि रु ३० लाख गरी प्रदेशबाट रु ५० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
उक्त बजेटमा सुन्दर पार्कसहित पार्कपरिसरभित्रै चक्रपथलगायत संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाइएको प्रतिष्ठानका सचिव दुर्गानारायण सुवेदी बताउँछन् । शहीद पार्क क्षेत्रमा अहिले हराभरयुक्त क्षेत्र, शहीद पाण्डेको शालिक, प्रतीक्षालय, शहीद स्मृति भवन, १०० जना अट्ने सभाहल, दुईवटा पोखरी, वनभोजका लागि ट्रष्टलगायत संरचना रहेका छन् ।
सुन्दर बगैँचा, सुविधा सम्पन्न सभाहल, व्यवस्थित वनभोजस्थल, अतिथि गृह, प्रतीक्षालय, पौडी पोखरी, पूर्व र पश्चिमतर्फ सहायक प्रवेशद्धारलगायतका संरचनाहरु निर्माण गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गरिएको उनले बताए । यसैगरी सोलार बत्ती, खानेपानीको सुविधा, रेखदेखका लागि माली र चौकीदार पनि राख्ने योजना प्रतिष्ठानको छ ।
विसं २०६३ मा स्थापना भएको शहीद पार्क क्षेत्रमा हाल निर्माण गरिएका संरचना तयार गर्न तत्कालीन जिविस, स्वाठी, सुनवल, रामनगर गाविस तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग रहेको छ ।