गण्डकी
देवचुलीका पाँच वडामा खानेपानी परीक्षण कार्यक्रम

देवचुली, असार १२-
नवलपुरको देवचुली नगरपालिकामा सुरक्षित खानेपानीसम्बन्धी अन्तक्र्रिया तथा पानी परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
देवचुली खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना र देवचुली नगरपालिकाको आयोजनामा देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय र कीर्तिपुरको सामुदायिक भवनमा कार्यक्रम गरिएको हो ।
देवचुली नगरपालिका वडा न ६, ७, ८ र ९ मा रहेका १२ वटा खानेपानी तथा सरसफाइ आयोजनाको मुहान, ट्यांकी तथा धाराको पानी परीक्षण गर्ने, उक्त क्षेत्रमा रहेका उपभोक्तालाई सुरक्षित खानेपानीका विषयमा सचेतना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक प्रवीण घिमिरेले बताए । वर्षाको समयमा पानीबाट फैलन सक्ने रोगहरु र त्यसबाट बच्ने उपायहरु, के कसरी सुरक्षित पानीको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा देवचुली स्वास्थ्य शाखा प्रमुख शिव पराजुली र कार्यक्रम संयोजक घिमिरेले सहजीकरण गरेका थिए । हिजो र आज संकलन गरिएको १२ वटा खानेपानी आयोजनाका ६० वटा नमुना परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा गरिने र सो परीक्षणको नतिजा दुई तीन दिनभित्रमा सकिने देवचुली स्वास्थ्य शाखा प्रमुख शिव पराजुलीले बताए ।
बुधबार भएको कार्यक्रम देवचुली खानेपानी तथा उपभोक्ता संस्था ८ र ९ का अध्यक्ष कृष्णबहादुर क्षेत्रीको अध्यक्षता भएको थियो भने आज वडा न ६ का अध्यक्ष मीनबहादुर सोतीको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ता गरी ६० जनाको सहभागिता रहेको थियो ।