गण्डकी
गैँडाकोट नगरपालिकाको नगरसभा अनिश्चित, तीन दिनभित्र मन्त्रालयमा जानकारी दिन निर्देशन

नारायणी अनलाइन डेस्क
चितवन, असार ११-
असार १० गतेसम्म नगरसभा सम्पन्न गरी बजेट ल्याउन संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन भए पनि नवलपुरको गैँडाकोट नगरपालिकाले बजेट ल्याउन सकेको छैन ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालिका, नगरपालिका र महानगरले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी वर्षका लागि बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेस गरेका र नगरेकाहरुलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कतिपय स्थानीय तहमा नीति तथा कार्यक्रममा आएको विवाद, रकमको माग लगायतमा कुरा नमिल्दा समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको बताइएको छ । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नारायणी अनलाइनसँग कुरा गर्दै उपप्रमुख विष्णुकुमारी कँडेल बिरामी भएर दिल्ली उपचारमा गएकोले विभिन्न समितिको बैँठक बस्न नसकेकोले समयमा बजेट ल्याउन नसकिएको बताए । उनले भोलि बिहीबार बस्ने नगर कार्यपालिकाको बैठकले नगरसभाको मिति तय गर्ने बताए । उनले भने, ‘स्थानीय राजस्व निर्धारण समितिको अध्यक्ष उपमेयर भएकोले पनि वहाँको अनुपस्थितिमा बजेट ल्याउन नसकिएको हो ।’
अनुदान नपाउने चेतावनी
समयमा बजेट नल्याउने स्थानीय तहलाई अनुदान नदिने सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिँदै आएको छ । समयमा बजेट नल्याउने स्थानीय सरकार स्थानीय नागरिकप्रति जिम्मेवार हुन नसकेको मन्त्रालयको भनाइ रहने गरेका छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई तोकिएको समय असार १० गतेभित्र बजेट पेस गर्न परिपत्र गरेका थिए । स्थानीय तहले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्न सक्ने व्यवस्था छ । बजेट पास नगरी खर्च गर्ने अधिकार जनप्रतिनिधिलाई छैन ।