गण्डकी

देवघाट गाँउपालिकाको बजेट ३१ करोड

Banner

चितवन,असार १०-

तनहुँको देवघाट गाँउपालिकाले आगामी आर्थिक बर्ष ०७६/७७ का लागि ३१ करोड २५ लाख ३९ हजारको बजेट प्रस्तुत गरेको छ । मंगलबार आयोजित चौथो गाँउसभा मार्फत वडा नम्बर २ का वडाध्यक्ष तथा कार्यपालिकाका जेष्ठ सदस्य पोल बहादुर आलेले सो बजेट प्रस्तुत गरे ।

गाँउपालिकाले चालु खर्च तर्फ २१ करोड ५९ लाख ९५ हजार ५ सय ९५ रुपैंया र पूजिगत तर्फ ९ करोड ६५ लाख ४३ हजार ४ सय ५ रुपैंया बजेट विनियोजन गरिएको हो । हाम्रो देवघाट संमृद्ध देवघाट भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको बजेटमा पूर्वाधार विकास,सामाजिक विकास र आर्थिक विकासमा जोड दिइएको छ ।

आर्थिक विकास तर्फ कृषि,पशु स्वास्थ्य उद्योग,पर्यटन र सहकारीको पूर्वाधार तथा विकासको लागि रु १ करोड ३१ लाख रुपैंया,सामाजिक क्षेत्र तर्फ शिक्षा स्वास्थ्य,खानेपानी तथा सरसफाई,धार्मिक,सांस्कृतिक,लैंगिक समानता तथा सामाजिक समावेशिकरण,युवा तथा खेलकुद र मानोरन्जनको क्षेत्रमा ४ करोड २६ लाख २० हजार १ सय ३० रुपैंया विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार क्षेत्र तर्फ ६ करोड ८२ लाख ३० हजार,वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ २५ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । गाँउसभाले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । गाउँपालिकाले दुई वटा रंगशाला निर्माण गर्ने योजनालाई गौरवका योजनाका रुपमा लिएको छ । देवघाट गाउँपालिका वडा नं १ मा कोटा रंगशाला र वडा नं २ मा खाल्टे रंगशाला निर्माण गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ ।

गाउँपालिका उपाध्यक्ष विमला थापा मगर स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि ज्येष्ठ कार्यपालिका सदस्य एवम् गाउँपालिका २ का वडाध्यक्ष पोलबहादुर आले मगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले पशुपक्षी विकास फाम, छरछरे झरना तथा पर्यटन विकास, घन्टाचुली भ्यू टावर, जनजाति संग्रहालयलाई गौरवका बहुवर्षीय योजनामा राखेको छ ।
त्यस्तै,सडक विस्तारलाई उच्च प्राथमिकता दिएको ज्येष्ठ कार्यपालिका सदस्य आले मगरले बताउनुभयो । गाउँपालिकाको गौरवका योजनाहरुमा देवघाट–साउने–कर्ताप सडक, गाईघाट–काफलडाँडा–छिपछिपे सानुभञ्ज्याङ सडक, सुन्तला मार्ग, खाल्टे–मास्दीघाट सडक र सिंच्याङ–पार्लाङ–साराङघाट सोमेश्वर मार्ग समावेश गरिएको छ । सडक विस्तारसँगै खानेपानी, सिँचाइ भवन निर्माण कार्य सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने, समूहमा अर्गानिक खेती गर्न चाहनेलाई जैविक मल बनाउने तालिम दिइने र वडा नंं ५ मा हरेक शुक्रबार कृषि हाटबजार तथा कृषि महोत्सव आयोजना गर्ने गाउँपालिकाले नीति लिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>