Uncategorized
सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए

सर्लाही , असार ५-
सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ।
विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो।
दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए।
‘विप्लव कार्यकर्ताको पछि लागेको प्रहरीमाथि गोली प्रहार भएपछि दोहोरो भिडन्त भएको हो,’ पोखरेलले भने, ‘दुइटा मोटरसाइकलमा रहेका उनीहरूले गोली फायर गर्दै जंगल पस्ने क्रममा दोहोरो भिडन्त भएको हो।’ चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।