नवलपुर

गैंडाकोटमा व्यवस्थित शवदाह र स्नानस्थल निर्माण

Banner

गैंडाकोट, असार ५–

नवलपुरको गैंडाकोट नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा व्यवस्थित शवदाह र स्नानस्थल निर्माण गरेको छ । नगरभित्र पर्ने नारायणी नदी किनारमा शवदाह र स्नानस्थल निर्माण गरिएको हो ।

नगरपालिकाको वडा नम्बर ५, ७, ९, १२, १७ मा शवदाह र स्नान स्थल निर्माण गरिएको हो ।शवदाह स्थल र स्नान स्थलका लागि वडा नम्बर ५ मा २८ लाख, वडा नम्बर ६ मा १५ लाख, वडा नम्बर ९ मा १५ लाख, वडा नम्बर १२ मा ७लाख र वडा नम्वर १७ मा ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

सो क्षेत्रमा पाँच ठाउँमा स्नान स्थल र चार ठाउँमा शवदाह स्थल निर्माण गरिएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरुलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको उनले बताए । निर्माण सम्पन्न भएकामध्ये वडा नम्बर १७ मा थप व्यवस्थित शवदाह स्थल निर्माण भएको उनले बताए । सबै ठाँउमा शौचालय,पानीको लागि बोरिङको व्यवस्था र वृक्षरोपण गरिने पौडेलले जानकारी दिए ।

मानिसको मृत्यु भएर घाटमा गइसकेपछि दाहसंस्कारका लागि सहज होस् भन्ने उदेश्यले व्यवस्थित शवदाह स्थल निर्माण गरिएको उनले बताए । उनले शवदाह र स्नानस्थलको रेखदेख र व्यवस्थापनको जिम्मा स्थानीय टोल विकास संस्थालाई दिइने जानकारी दिए । स्थानीय सरकार ऐन बमोजिम नगरपालिकाले नगर भित्रका नारायणी नदी किनारका क्षेत्रलाई व्यवस्थित गराउँदै लैजाने बताएको छ ।

वडा नम्बर पाँचका वडाध्यक्ष नवराज कँडेलले नगरको सुन्दरता र नगरिकलाई सुविधा प्रदान गर्नका लागि शवदाह स्थल र स्नान स्थल निर्माण गरिएको बताए । उनले नारायणी नदी किनारको क्षेत्रको फोहोरमैला व्यवस्थापनमा वडाका तर्फबाट पनि विशेष ध्यान दिइएको दावी गरे ।

वडानम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले वडामा व्यवस्थित शवदाहस्थल निर्माण गरिएको बताए । उनले भने,–‘ढुङ्गा बालुवा र फोहोरले मलामीलाई समस्या भएको थियो, अबदेखि त्यो समस्या हेटेको छ ।’ उनले बोरिङको समेत व्यवस्था गरेर शव जलाईसकेपछि पानीले पखाल्ने व्यवस्था गरिने जानकारी दिए । उनले अझै पाँच÷सात लाख रुपैयाँ अभाव रहेको र आगामी आर्थिक वर्षमा योजनालाई पूर्णता दिइने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>