खैरहनी

राप्तीमा पोखरी खन्दा खैरहनीको १०५ हेक्टर जमिन सिँचाइमा समस्या

Banner

चितवन, असार ४-

राप्ती नगरपालिकामा निर्माण गरिएको पोखरीका कारण खैरहनी नगरपालिकाका कृषक प्रभावित बनेका छन् ।

राप्ती नगरपालिका–६ को राप्ती एकता मध्यवर्ती सामुदायिक वनभित्र निर्माण गरिएको भस्माडी तालका कारण खैरहनी नगरपालिका–१० का कृषक सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार २०५० सालअघि सो स्थानमा पोखरी रहेको थियो । उनले भने, ‘त्यतिबेला आएको ठूलो बाढीका कारण पुरिएको पोखरीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यवस्थित गरिएको हो ।’

बरालका अनुसार एक करोड ६८ लाख लागतमा ४६ बिघा क्षेत्रफलमा पानीको मुहान क्षेत्रलाई व्यवस्थापन गरी ताल बनाइएको छ । यसको निर्माणमा प्रदेश सरकारको ५०, समुदायको ३० र राप्ती नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । पोखरीले नभएर पानीको मूल फुटी नसकेकाले समस्या भएको बरालको भनाइ छ । पर्यटन प्रवद्र्धन गर्न पोखरी र खेती गर्न कुलो दुवै हुने गरी व्यवस्थापन गरिने उनले बताए ।

पोखरी निर्माण हुँदा कतिपय मूल पनि पुरिएको स्थानीयवासीको भनाइ छ । बाँध बनाएर पोखरी बनाइएको छ । बाँधबाट चलनचल्तीको कुलोमा पानी जान बन्द भएको छ । पोखरीको दक्षिणतर्फ हाल बनाइएको वैकल्पिक कुलो प्रयोगका हिसाबले अनुपयुक्त रहेको स्थानीय किसान बताउँछन् । बूढी राप्ती जल उपभोक्ता समितिका अध्यक्ष बामन महतोले ताल निर्माणले मूल पुरिएको र कुलो थुनिएको कारण सिँचाइमा समस्या परेको बताए ।

महतोका अनुसार त्यस कुलोको पानीबाट १०५ हेक्टर जमीन सिञ्चित हुने गरेको छ । पानी बन्द हुँदा कृषकलाई मर्का परेको उनले बताए ।
खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पोखरीको बाँधले कुलो थुनिएकाले किसानलाई समस्या परेको विषयमा आफू जानकार रहेको बताए । पोखरी पनि बन्ने, किसानको सिँचाइको समस्या पनि टर्ने गरी उपायको खोजी गर्ने काम भइरहेको चौधरीको भनाइ छ ।
(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>