गण्डकी
देवचुलीका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा

देवचुली, असार ३-
विद्यार्थीका लागि आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम आज देवचुलीमा सम्पन्न भएको छ ।
आयुर्वेद विभागको कार्यक्रम अनुसार देवचुली नगरपालिका रजहर आयुर्वेद औषधालयद्वारा देवचुली नगरपालिकाका चारवटा माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । देवचुली नगरपालिकाका नेपाल मावि, देवचुली मावि, पृथ्वी माविमा कार्यक्रम गरिसकिएको र आज भीमसेन आदर्श माविमा कार्यक्रम सम्पन्न गरिएको रजहर आयुर्वेद औषधालयका कविराज निरीक्षक नवराज पौडेलले बताए । पौडेलका अनुसार कार्यक्रममा मौलिक चिकित्सा एवम् आयुर्वेदको परिचय तथा महत्व, औषधालयबाट पाउने सेवा सुविधा, स्वस्थ्य जीवनशैली, स्थानीयस्तरमा पाइने जडिबुटीको परिचय र महत्व एवम् योग शिक्षाको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
त्यस्तै असार ५ गतेदेखि ७ गतेसम्म विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रमअन्तर्गत प्रत्येक माध्यमिक विद्यालयबाट दुई विद्यार्थीहरु र एक शिक्षकलाई परिचालन गरी योग प्रशिक्षण गरिएको समेत बताए । भीमसेन आदर्श माविका सह प्रधानाध्यापक अग्निधर भुसालको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण रजहर आयुर्वेद औषधालयका कविराज निरीक्षक नवराज पौडेल र वैद्य सविता शर्माले गरेका थिए ।
आयुर्वेद स्वास्थ्य मौलिक र पुरानो चिकित्सा पद्धति भएको र स्थानीयस्तरमा पाइने जडिबुटीहरुको सही प्रयोग गर्ने तरिका थाहा नहुँदा समस्या रहने गरेकोले यस्ता जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि सबै पक्ष सक्रिय हुनुपर्ने अवस्था रहेको भीमसेन आदर्श माविका सहप्रधानाध्यापक अग्निधर भुसालले बताए । आजको कार्यक्रम १०३ जना माध्यमिक तहका विद्यार्थीको सहभागितामा सम्पन्न भएको थियो ।