खैरहनी
खैरहनीमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, ११३ जनाले पाए रोजगारी

चितवन, असार ३–
चितवनको खैरहनी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार शुभारम्भ गरेको छ । नगरको वडा नम्वर १ बाट रोजगार कार्यक्रमको सुरुवात गरिएको हो ।
खैरहनीका मेयर लालमणी चौधरीले बेरोजगारको सूचीमा नाम दर्ता गराएकालाई हाते सामग्री हस्तान्तरण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरे । वडा नम्वर १ का ७ जनाले पहिलो चरणमा सार्वजनिक जग्गामा फलफुलका विरुवा वृक्षरोपणका लागि काम गर्नेछन् । रोजगार कार्यक्रमको सुरुवात गर्दै खैरहनीका मेयर चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माण काममा ठूलो मेसिनलाई विस्थापित गरिने बताए ।
साथै मेयर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार भएकाहरुलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे । नगरपालिकाले वातावरण संरक्षणसंगै आयआर्जनका लागि सार्वजनिक जग्गामा फलफुलका विरुवा रोप्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । पहिलो चरणमा फलफुलका विरुवा रोप्न लगाईएपनि बेरोजगारको फारम भरेकाहरुलाई विकास निर्माणका अन्य काममा समेत लगाउने नगरपालिकाले योजना बनाएको शर्माले बताए ।
दैनिक ८ घण्टा काम गरेबापत उनीहरुले नेपाल सरकारले तोकेको ६ सय ३० रुपैयाँ प्राप्त गर्नेछन् । नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलका अनुसार खैरहनीका १३ वटा वडाबाट ९ सय जनाले बेरोजगारको फाराम भरेका छन् ।