कालिका

चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेनाको माग

Banner

चितवन,असार २-

तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेना सङ्घको केन्द्रीय समितिले माग गरेको छ । सङ्घले यसै क्षेत्रका गृहमन्त्री रामबहादुर थापा र कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर तत्काल काम अघि बढाउन आग्रह गरेको हो ।

नगरप्रमुख श्रेष्ठले आउँदो असार १० गते हुने नगर परिषद्बाट विस्तृत परियोजना अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठलाई यसअघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सङ्ग्रहालयका लागि काम अघि बढाउन आग्रह गरिसक्नुभएको छ ।

सशस्त्र द्वन्द्वको समयमा रहेका डिभिजनमध्ये तेस्रो डिभिजनलाई निकै महत्वका साथ हेर्ने गरिएको थियो । सङ्घका अध्यक्ष देवीप्रसाद ढकालले विस्तृत अध्ययन प्रतिवेदन र सीमाङ्कनको काम स्थानीय तहबाट गराएपछि अरू काम गर्ने कुरामा गृहमन्त्री थापाले आश्वस्त गराउनुभएको जानकारी दिनुभयो । ढकालले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई पर्यटन विकासमा जोड्नसमेत युद्ध सङ्ग्रहालय उपयोगी बन्ने बताउनुभयो ।

जिल्लामा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु हेर्न, थारू संस्कृतिमा रमाउन र डुङ्गा सयर गर्न पर्यटक आउने गरेका छन् । महत्वपूर्ण गन्तव्यको अभावमा पर्यटकको यहाँको बसाइ दुई रात मात्र हुने गरेको छ । युद्ध सङ्ग्रहालय बनेमा थप एक रात पर्यटक राख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>