चितवन विशेष

चितवनमा औलोका बिरामी घटे

Banner

चितवन,जेठ २८-

चितवन जिल्ला औलो रोग उन्मुलनतर्फ उन्मुख देखिएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चितवन जिल्लामा औलो प्रभावितको सङ्ख्या घट्दै गएको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा चितवनमा १६ जनामा औलो देखिएको थियो । त्यसवर्ष यहाँका दुई हजार दुई सय ५० जनाको रगतको नमुना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा चितवनमा शङ्कास्पद चार हजार २१ जनाको रगतको नमुना परीक्षण गर्दा १५ जनामा औलोको लक्षण देखिएको थियो । चालु आर्थिक वर्ष २०७५/०७६ को हालसम्म चितवनमा चार हजार दुई सय ८६ जनाको रगत परीक्षण गर्दा नौ जनामा मात्रै औलोको सङ्क्रमण देखिएको केसीले बताए ।

केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरीका ५० घरमा सतर्कता अपनाइने गरेको केसीले जानकारी दिए । नेपाललाई सन् २०२५ सम्म औलो उन्मुखलन बनाउने गरी कार्यक्रम भइरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय केसलाई शून्यमा झार्ने योजना रहेको बताए । चितवन सहित देशभरी स्थानीय केसभन्दा आयातित केस बढी देखिएको केसीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनमा प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले सोमबार आयोजना गरेको औलो रोग निवारणका लागि संस्थागत बैठकमा केसीले एनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्ने गरेको बताए । नेपालमा एनोफेलिज जातको विभिन्न चार वटा प्रजातिको टोकाइका कारण औलो रोगको सङ्क्रमण देखिएको केसीको भनाइ छ ।

सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ का भेक्टर कन्ट्रोल निरीक्षक चन्द्रेश्वरप्रसाद यादवले नेपाल भारतको खुला सिमानाका कारण आयातित औलोका बिरामी बढी हुने गरेको बताए । स्थानीय औलो नियन्त्रण गरेपछि आयातित औलो नियन्त्रण गर्न समेत सहज हुने यादबको भनाइ छ । सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसिया, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>