चितवन विशेष

भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण

Banner

चितवन, जेठ २७–

भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो । दुई वर्ष छ महिनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो ।

दिल्लीको एपोलो अस्पतालमा तीन महिनाको तालीम लिएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा.श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ । उनका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ ।

निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ । शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो । थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा रु.दुई लाख २० हजार र पुठोको रु. एक लाख २० हजार हाराहारी जोर्नी खरीद गर्न खर्च लाग्ने गर्दछ ।

घुँडाको अमेरीकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा रु ४० हजार हाराहारी खर्च हुने गर्दछ । उनका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष चाहिने गर्दछ ।

उनले अस्पतालमा रहेको शल्यक्रिया कक्षलाई जिवाणुरहित बनाएर प्रत्यारोपण गर्ने गरेको जानकारी दिए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले निजीमा भन्दा कम खर्चमा सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्न सकिने बताए । निजीमा यहाँको भन्दा रु.एक लाखभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

अस्पतालमा तालीम प्राप्त विज्ञ चिकित्सक रहेकाले प्रत्यारोपण गराउनेको रोजाइ सरकारी अस्पताल हुने गरेको बगालेले बताए । महङ्गो खर्च लाग्ने, बीमा नहुने, सरकारी छुट नपाइने र प्रत्यारोपणको जनचेतना नहुँदा सोचेअनुसारका बिरामी नआएका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । घुँडा प्रत्यारोपण गर्ने अधिकांश ज्येष्ठ नागरिक हुने गरेका छन् । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>